विराटनगर । वि.सं. २०८३ सालको पहिलो कारोबार दिन शेयर बजारमा सकारात्मक सुरुवात देखिएको छ। अघिल्लो कारोबार दिन सामान्य गिरावट आएको बजार बुधबार भने उल्लेख्य सुधारसहित बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ। साथै सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले उकालो लागेको छ भने फ्लोट इण्डेक्स २.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६५ अंकले वृद्धि भएको छ।
कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। गत सोमबार ८ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४४ वटा कम्पनीका १ लाख २३ हजार ३५९ पटकको कारोबारमार्फत १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ।
आज ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रिज र सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले उच्च नाफा कमाएका छन्। शिखर पावर डेभलपमेन्टको शेयर मूल्य करिब १० प्रतिशतले बढ्दा सोलु हाइड्रोपावर पनि साढे ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य भने साढे ५ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ, जसको ५८ करोड ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेशनल हाइड्रोपावर कम्पनी र रिलायन्स स्पिनिङ्ग मिल्स पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।
बुधबार बजारका १३ वटै उपसमूह हरियाली देखिएका छन्। होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ। त्यस्तै जलविद्युत र व्यापार उपसमूह २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् भने बैंकिङ्ग, विकास बैंक र वित्त उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
समग्रमा, नयाँ आर्थिक वर्षको सुरुवातमै शेयर बजारमा देखिएको यो सकारात्मक संकेतले लगानीकर्तामा उत्साह थपिएको देखिन्छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।