विराटनगर । मुलुकको आर्थिक सुचकांकको वास्तविक चित्र उतार्न आजदेखि तीन महिने ‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ अभियान सुरु भएको छ । आगामी असार पहिलो सातासम्म चल्ने यस महाअभियानका लागि देशभर करिब ५ हजार जनशक्ति कार्यक्षेत्रमा खटिएका छन् ।
यसैबीच, मोरङ जिल्लामा पनि गणनाको तयारीलाई घनिभूत पारिएको छ । जिल्लाका १७ वटै स्थानीय तहमा रहेका व्यवसायिक प्रतिष्ठानको विवरण सङ्कलन गर्न १७८ जना सुपरीवेक्षक र गणक परिचालन गरिँदैछ । जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीका अनुसार स्थलगत गणनाका लागि जनशक्ति काम आजबाट खटिदैछन् ।
यो गणनाले साना पसल र स्वरोजगारदेखि ठूला उद्योग, कलकारखाना, सरकारी तथा निजी विद्यालय, अस्पताल र गैरसरकारी संस्थासम्मको नालीबेली सङ्कलन गर्नेछ । विशेषगरी १८ वटा प्रमुख आर्थिक क्षेत्रको लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहको अवस्थालाई यसले मिहिन ढंगले केलाउने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
अर्थ मन्त्रालयले मुलुकको आगामी आर्थिक नीति निर्माणमा यो तथ्याङ्क कोसेढुङ्गा सावित हुने भन्दै सही विवरण उपलब्ध गराउन सबैमा अपिल गरेको छ । गणनाका लागि देशभर ८४ वटा विशेष कार्यालय स्थापना गरिएका छन्, जसले असार मसान्तसम्म तथ्याङ्क व्यवस्थापनको काम गर्नेछन् ।
यसअघि २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनाले देशभर ९ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेको देखाएको थियो । ६ वर्षपछि हुन लागेको यो गणनाले नेपालको बदलिँदो आर्थिक परिदृश्यको वास्तविक तथ्याङ्क बाहिर ल्याउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।