लोड हुँदैछ...

मेनु

नयाँ वर्षमा गुराँसको राजधानीले तान्दैछ पर्यटक

नयाँ वर्षमा गुराँसको राजधानीले तान्दैछ पर्यटक

ताप्लेजुङ । नयाँ वर्षको अवसरमा गुराँसको राजधानीका रूपमा परिचित तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ।

गुराँस फुल्ने सिजनसँगै घुमफिर र अवलोकनका लागि सयौंको संख्यामा मानिस पुगिरहेका छन्।

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ का सुरज ओझा प्रत्येक वर्ष नयाँ वर्षमा टीएमजे क्षेत्रलाई आफ्नो गन्तव्य बनाउने गर्छन्। सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्षसमेत रहेका ओझा यस वर्ष पनि चैत ३० गते गुफा पोखरी पुगेर बस्ने र नयाँ वर्षको दिन गुराँसका बुट्यान अवलोकन गर्न गएका छन् ।

फुङलिङबाट दोभान बजार हुँदै मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजार पार गरी करिब तीन घण्टाको यात्रापछि ताप्लेजुङ, पाँचथर र सङ्खुवासभाको सङ्गमस्थल गुफा पोखरी पुग्न सकिन्छ। मिक्वाखोला गाउँपालिका–५ पापुङकी फुपुल्हामु शेर्पाको टोलीले पनि नयाँ वर्ष गुफा पोखरीमै मनाउन गएको छ। नयाँ वर्षको दिन घुमफिर गरे वर्षभरि राम्रो हुने विश्वासका कारण गाउँका साथीभाइसँग उक्त क्षेत्र जाने तयारी गरिएको उनले बताइन्। पापुङबाट हान्द्रुङ, दोभान र साँघु हुँदै गुफा पोखरी पुगिन्छ।

गुराँसको राजधानीका रूपमा परिचित टीएमजे क्षेत्रमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन्। वनस्पतिविद् कमल मादेन र दीपक खड्का सहितको टोलीले थप दुई नयाँ प्रजाति पत्ता लगाएपछि संख्या ३० बाट बढेर ३२ पुगेको हो। उक्त टोलीले १२ दिनसम्म अध्ययन गरेर नयाँ प्रजाति पहिचान गरेको जनाएको छ।

तेहथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कदेखि मेन्छ्यायेम हुँदै ताप्लेजुङको फक्ताङलुङ र पाथीभरासम्म गुराँस पाइन्छ। ओलाङचुङगोला, घुन्सा र फले क्षेत्र गुराँसले राताम्मे हुने प्रमुख स्थान हुन्। तीनजुरेदेखि फक्ताङलुङसम्मको क्षेत्रमा नयाँ प्रजाति भेटिएको पनि अध्ययनले देखाएको छ।

विश्वभर करिब १ हजार ७३ प्रजातिका गुराँस पाइने बताइन्छ। नेपालमा मात्रै ४३ जिल्लामा यसको विस्तार रहेको वन तथा वातावरण मन्त्रालयको कार्ययोजनामा उल्लेख छ। लालीगुराँस नेपालसहित भारत, भुटान, म्यान्मार, भियतनाम र चीनका विभिन्न क्षेत्रमा पाइन्छ।

यद्यपि, हिमाली र उच्च पहाडी क्षेत्रमा अन्य वनस्पति कम हुने भएकाले स्थानीयले गुराँसलाई दाउराका रूपमा प्रयोग गर्ने प्रवृत्ति पनि देखिन्छ। यसले संरक्षणमा चुनौती थपिएको सामुदायिक वनका अगुवाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।