विराटनगर । विक्रम संवत् २०८३ सालको पहिलो दिन आज कोशी प्रदेशभर नयाँ वर्षको उत्साह छाएको छ । विश्व राजनीतिमा देखिएको अमेरिका–इरान तनाव र त्यसका कारण सिर्जित विश्वव्यापी आर्थिक मन्दी तथा चर्को महँगीका बाबजुद पनि सर्वसाधारणले नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गरेका छन् ।

नयाँ वर्षको पहिलो दिन कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरू आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । महँगीको मार भए तापनि मानिसहरू पारिवारिक र व्यक्तिगत खुसियाली साट्न घर बाहिर निस्किएका छन् । आज बिहानैदेखि धनकुटाको साँगुरीगढीस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा पूजाअर्चना गर्ने र दर्शन गर्ने पर्यटकहरूको ठूलो घुइँचो लागेको छ ।

त्यस्तै, कोशी प्रदेशको ‘रानी’ मानिने भेडेटार, पर्यटकीय गाउँ नाम्जे र नमस्ते झरना क्षेत्रमा युवाहरूको बाक्लो उपस्थिति देखिएको छ । यी क्षेत्रका होटल तथा रिसोर्टहरू हिजैदेखि भरिभराउ रहेको स्थानीय होटल व्यवसायीहरूले बताएका छन् । धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिने धरानका पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ ।

सुनसरीको चतरा र प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा समेत आन्तरिक पर्यटकहरूको चाप उल्लेख्य बढेको छ । पहाडी जिल्ला तेह्रथुमको बसन्तपुर र लालीगुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा पनि हिजैदेखि पर्यटकहरूको आगमन सुरु भएको थियो ।

यता, पूर्वाञ्चलकै आकर्षक गन्तव्य इलामको कन्याम र श्रीअन्तुमा पनि आज विशेष चहलपहल छ । सूर्योदयको अवलोकन गर्न र चिया बगानमा रमाउन आउने पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । महँगीका कारण दैनिक जनजीवनमा केही असहजता भए पनि नयाँ वर्षको उमङ्गले मानिसहरूमा नयाँ आशा र उत्साह सञ्चार गरेको छ । कोशी प्रदेशका मुख्य पर्यटकीय स्थलहरूमा आज दिनभरि नै आन्तरिक पर्यटकहरूको भरिभराउ रहने संकेत देखिएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।