लोड हुँदैछ...

मेनु

चैतमा हिमपात भएपछि तिम्बूङ पोखरी क्षेत्रमा पर्यटकको चहलपहल

चैतमा हिमपात भएपछि तिम्बूङ पोखरी क्षेत्रमा पर्यटकको चहलपहल

पाँचथर । पाँचथर र ताप्लेजुङको सिमावर्ती हिमाली क्षेत्रमा पर्ने तिम्बूङ पोखरी आसपास यतिबेला लछप्पै हिउँ जमेको छ।

हिउँदभर नपरेको हिउँ चैत लागेपछि पटक–पटक परिरहँदा त्यहाँको वातावरण अत्यन्त रमणीय बनेको छ भने पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन् ।

समुद्री सतहदेखि करिब ४,३८० मिटर उचाइमा रहेको सो क्षेत्र घुम्न जाने मुख्य सिजन सामान्यतया जेठदेखि कात्तिकसम्म मानिन्छ। तर, यस वर्ष ‘अफ सिजन’मै पनि पर्यटकको भीड बढ्दै गएको स्थानीयले बताएका छन्।

पर्यटन व्यवसायी अमिर राईका अनुसार पछिल्लो समय काठमाडौँ र पोखरासहित विभिन्न स्थानबाट हिउँ हेर्न र खेल्न पर्यटक आइरहेका छन्। पहिले अफ सिजनमा प्रायः शून्यजस्तै हुने पर्यटक संख्या अहिले क्रमशः बढ्दै गएको उनले बताए।

प्राकृतिक सौन्दर्य, सेतो हिउँले ढाकिएका डाँडाकाँडा, गुराँसका जंगल र दुर्लभ वन्यजन्तु (डाँफे लगायत) त्यहाँका मुख्य आकर्षण हुन्। यो वर्ष ताप्लेजुङतर्फको बाटो हुँदै मात्रै ५ हजारभन्दा बढी पर्यटक यहाँ पुगेको तथ्यांक छ।

यस क्षेत्रमा पुग्न पाँचथर वा ताप्लेजुङबाट सवारी साधन पुगेको स्थानदेखि कम्तीमा दुई दिन पैदल यात्रा गर्नुपर्ने हुन्छ। भारतको पश्चिम बंगाल र सिक्किमसहित नेपालका विभिन्न स्थानबाट आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्।

यसैबीच सन्दकपुर, फालौट, चारराते र चिवा भञ्ज्याङ क्षेत्रमा पनि चैतदेखि निरन्तर हिमपात भइरहँदा ती स्थानहरूमा समेत पर्यटकको चाप बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।