लोड हुँदैछ...

मेनु

भारतीय पर्यटकलाई भारु सुविधाः

सरकार भन्छ ५ हजार डलर, व्यवसायी भन्छन् २५ हजार भारु

सरकार भन्छ ५ हजार डलर, व्यवसायी भन्छन् २५ हजार भारु

विराटनगर । केही दिन अघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित गर्न ५ हजार डलर बराबर हुने भारतीय मुद्रा लिएर नेपाल आउन कुनै समस्या नरहेको सुनाउँदा व्यवसायीहरु उत्साहित बने । उनले भनेका थिए, “भारतीय पर्यटकले अब ढुक्क भएर ४ लाख १५ हजार भारतीय रुपैयाँ अर्थात ५ हजार अमेरिकी डलर बराबर हुने रकमसम्म नगद बोकेर नेपाल भ्रमणमा आउन सक्छन् ।”

अहिलेसम्म २५ हजार भन्दा बढी मुद्रा बोकेर नेपाल आउन नपाएका भारतीय नागरिकहरु अब भने सहजै आउने विश्वासले व्यवसायीहरु उत्साहित बनेका थिए । तर, भारतीय पर्यटकहरुले पर्याप्त खर्च बोकेर नेपाल आउन नसक्नुको कारण नेपाल सरकारको निर्णय नभई भारतीय पक्षकै नियन्त्रणका कारण समस्या देखिएको छ ।

गत साता नेपाल–भारत सीमावर्ती बजार जोगवनीमा यस्तै एउटा घटना भएको थियो । नेपाल घुम्न आउँदै गरेका भारतीय पर्यटकहरूको एउटा समूहलाई भारतीय प्रहरीले घण्टौँ रोकेर केरकार ग¥यो । कारण थियो– उनीहरूसँग भारत सरकारले तोकेको २५ हजार भारुको सीमाभन्दा बढी रकम हुनु । अन्ततः २५ हजार मात्र बोक्ने सर्तमा उनीहरू नेपाल छिर्न त पाए, तर उनीहरूको घुम्ने उत्साह जोगवनीमै सेलाइसकेको थियो । यस्तो घटना भारतीय पक्षबाट मात्र होइन नेपाल प्रहरीबाट पनि हुने गरेको छ । दुई तीन लाख भारतीय मुद्रा बोकेर आएका पर्यटकहरु पनि विराटनगर र इटहरीबाट बेलाबखत पक्राउ पर्ने गरेका छन् । जसले गर्दा भारतीय पर्यटकहरु नेपाल घुम्न आउनका लागि झन्झट मान्न थालेका छन् ।

बिहीबार मात्रै सुनसरीको भण्टावारीबाट एक जना भारतीयसहित दुई जना व्यक्ति पक्राउ परे । उनीहरुको साथबाट ५ लाख नेपाली र करिब १३ हजार भारतीय रुपैयाँ बरामद भएको थियो । प्रहरीले हुण्डीको रकम हुनसक्ने आशंकामा उनीहरुलाई पक्राउ गरेको हो । सीमावर्ती क्षेत्रमा यस्ता घटना दिनहुँ हुने गरेको छ । जसले गर्दा प्रहरीलाई पनि पर्यटक हुन् कि अवैध कारोबारी छुट्याउन कठिन छ ।

कोशी पर्यटन वर्ष निर्देशक समितिका संयोजक भविशकुमार श्रेष्ठ सरकारको नीति र कार्यान्वयनका बिचमा केही अन्तरहरु रहेको बताउँछन् । उनले सरकारसँग केहि बुझाइका सीमाहरु रहेको बताए । “सरकारले समस्या सुन्यो तर बुझेन,” श्रेष्ठ भन्छन्, “नेपालले ५ हजार डलर बराबरको भारु ल्याउन दिन्छु भन्नु मात्र समाधान होइन, भारत सरकारले २५ हजारभन्दा बढी बोकेर नेपाल प्रवेश गर्न नदिइरहेको विषयमा समस्या छ । जबसम्म दुई देशबीच यस विषयमा कुटनीतिक समझदारी हुँदैन, तबसम्म यो समस्याको समाधान सहज छैन ।”

नेपालमा क्यासिनो, विलासी होटल, मेडिकल कलेज र धार्मिक पर्यटन र स्वास्थ्य उपचारका लागि समेत भारतीयहरू सीमावर्ती नेपाली सहरहरुमा आउन चाहन्छन् । तर, पर्याप्त नगद बोक्न नपाउँदा उनीहरूले चाहेर पनि खर्च गर्न पाइरहेका छैनन् । अर्थ सचिव उपाध्यायले भारु खर्च गर्दा नेपालको डलर सञ्चितिमा राहत पुग्ने तर्क गरे पनि व्यवसायीहरू भने सरकारले आगामी बजेटमार्फत नै यो समस्याको व्यावहारिक समाधान खोज्नुपर्ने बताउँछन् ।

जबसम्म नेपाल र भारतका सुरक्षाकर्मीबीच समन्वय हुँदैन र २५ हजारको ‘सिलिङ’ माथि दुई देशबीच नयाँ समझदारी बन्दैन, तबसम्म भारतीय पर्यटकका लागि नेपालको यात्रा ‘आर्थिक झन्झट’ बनिरहने पर्यटन व्यवसायी श्रेष्ठ बताउँछन् । उनले जेनजी आन्दोलनपछि भारतीय पर्यटकहरुको आवागमन घटेको जानकारी दिए । त्यसअघिका दिनहरुमा विराटनगर, इटहरी, भेडेटारसम्मका होटल तथा लजहरुमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति रहेकोमा अहिले आन्दोलन र सुरक्षाको कुरा उठाएर धेरै भारतीयहरु यहाँ नआइरहेको श्रेष्ठले भने । उनले भने ‘हामीले शान्ति सुरक्षाको प्रत्याभूति र सहज आवागमनको सुनिश्चिता गर्ने हो भने यस क्षेत्रमा प्रसस्त भारतीय पर्यटकहरु ल्याउन सकिने आधार छ । साथै हामीले कोशी पर्यटन वर्षको अवसरमा भारतीय पक्षलाई आकर्षित गर्न पर्याप्त प्रयत्न गरेका पनि छौं ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।