पाँचथर । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने दुर्गम तिम्बुङ पोखरी क्षेत्र चैतको अन्तिम साता हिउँले ढाकिएको छ।
हिउँदभर नपरेको हिउँ चैत लागेपछि पटक–पटक पर्दा यहाँको वातावरण अत्यन्त रमणीय बनेको छ भने ‘अफ सिजन’मै पर्यटकको आगमन बढेको छ।
समुद्री सतहदेखि करिब ४ हजार ३८० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीमा जेठदेखि कात्तिकसम्म मुख्य सिजन मानिन्छ। तर, यो वर्ष भने चैतमै निरन्तर हिमपात भएपछि काठमाडौं र पोखरासम्मका पर्यटकहरू हिउँ खेल्न र दृश्यावलोकन गर्न पुगिरहेका छन्।
स्थानीय पर्यटन व्यवसायी अमिर राईका अनुसार तिम्बुङ पोखरीसहित पाँचथर–ताप्लेजुङ सीमावर्ती उच्च पहाडी तथा हिमाली क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ। मनमोहक हिमदृश्य, डाँडाकाँडामा फैलिएको हिउँ र बाटोभरि पाइने गुराँसको जंगलले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। यो वर्ष मात्रै ताप्लेजुङको बाटो हुँदै ५ हजारभन्दा बढी पर्यटक यहाँ पुगेको तथ्यांक छ।
तिम्बुङ पोखरी पुग्न सडक यातायात छाडेपछि कम्तीमा दुई दिन पैदल हिँड्नुपर्छ । सो क्षेत्रमा भारतको पश्चिम बंगाल र सिक्किमसहित नेपालका विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। त्यहाँ पाइने जडीबुटी र डाँफे लगायत जैविक विविधताले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ।
तिम्बुङ पोखरीसँगै सन्दकपुर, फालौट, चारराते र चिवा भञ्ज्याङ क्षेत्रमा पनि चैत लागेपछि पटक–पटक हिमपात भइरहेको छ । फालेलुङ–४ का श्याम लिम्बूका अनुसार “हिउँदभर नपरेको हिउँ चैतमा देखियो, अझै पनि जाडो कम भएको छैन।”ं




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।