काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन लगातार बढेको बजार शुक्रबार भने ओरालो लागेको हो।
शुक्रबार नेप्से परिसूचक १३.४६ अंकले घट्दै २८३७.७७ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.२६ अंकले घटेका छन्।
कारोबार रकममा पनि गिरावट आएको छ। बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा शुक्रबार ३३५ स्टकको ९७ हजार ४८० पटकको कारोबारमा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँबराबरको २ करोड १० लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टका शेयर उच्च सीमासम्म बढेका हुन्। पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट भने आजदेखि कारोबारमा आएका नयाँ कम्पनी हुन्।
रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ। यता एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको ५१ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे ४३ करोड रुपैयाँ र रिडी पावर डेभलपमेन्टको ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढ्दा ११ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूह १.५९ प्रतिशतले बढेको छ भने जलविद्युत उपसमूहमा सामान्य वृद्धि देखिएको छ। लगानी, अन्य र व्यापार उपसमूह भने १ प्रतिशतभन्दा बढीले घटेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।