लोड हुँदैछ...

मेनु

झापा बाहुनडाँगीको नयाँ पहिचान : ‘हात्ती मैत्री होमस्टे’

झापा बाहुनडाँगीको नयाँ पहिचान : ‘हात्ती मैत्री होमस्टे’

विर्तामोड । पूर्वोत्तर झापाको बाहुनडाँगी गाउँमा जंगली हात्तीको त्रास अझै उस्तै छ। साँझ परेपछि मेची नदी तरेर गाउँ पस्ने हात्तीको हुलले स्थानीयलाई सधैं त्रसित बनाउँछ।

हात्तीले दिएको पीडाबीच गाउँका महिलाहरूले ‘हात्ती मैत्री सामुदायिक होमस्टे’ सुरु गरेर जीवनमा नयाँ आशा खोजिरहेका छन्।

चार वर्षअघि सुरु गरिएको यो होमस्टे अहिले स्थानीय महिलाहरूको सामूहिक प्रयास र आत्मनिर्भरताको प्रतीक बनेको छ। गीता प्रधान, उमा राउत, उमा प्रधान, पारु प्रधान, रुपा प्रधान, पवित्रा प्रधान, शान्ति प्रधान, अनु कार्की र राधा नेपाललगायत महिलाहरू यस अभियानमा सक्रिय छन्।

होमस्टेको सञ्चालन शैली पनि अनौठो र आकर्षक छ। पाहुना धेरै भए सबै मिलेर सामूहिक रूपमा खाना पकाइन्छ भने कम पाहुना हुँदा घर(घरमा बाँडेर आतिथ्य गरिन्छ । पाहुनालाई आफ्नै घरमा राख्ने, सुताउने र स्थानीय परिकार खुवाउने यहाँको विशेषता हो। “हामी आफैंले जे खान्छौं, पाहुनालाई त्यही खुवाउँछौं,” पवित्रा प्रधान भन्छिन्।

आम्दानी पनि सामूहिक रूपमा व्यवस्थापन गरिन्छ। खर्च कटाएर बाँकी रकम दामासाही रूपमा बाँडिन्छ, जसले सबैलाई समान लाभ दिन्छ। स्थानीय महिलाहरूले विभिन्न संघसंस्थाबाट तालिम लिएर ‘हस्पिटालिटी’देखि खाना पकाउने सीपसम्म सिकेका छन्।

यो अभियानमा जोडिएकी उमा राउतको कथा झन् प्रेरणादायी छ। करिब १७ वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएकी उनले अहिले गाउँमै आत्मनिर्भर जीवन बिताइरहेकी छन्। “अब बाँकी जीवन आफ्नै गाउँमा बिताउने,” उनी भन्छिन्।

हात्ती त्रासका लागि परिचित बाहुनडाँगी अहिले ‘हात्ती मैत्री’ अवधारणामार्फत पर्यटक आकर्षित गर्ने प्रयासमा छ। स्थानीय संस्कृति, परिकार र आत्मीय आतिथ्यलाई पर्यटनसँग जोड्दै महिलाहरूले आयआर्जनको नयाँ बाटो पहिल्याएका छन्।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार यो पहलले आर्थिक अवस्था मात्रै सुदृढ बनाएको छैन, महिलाहरूलाई आत्मनिर्भर र आत्मविश्वासी समेत बनाएको छ। “आज दिदीबहिनीहरू गृहिणी मात्र होइनन्, सफल उद्यमीका रूपमा अघि बढिरहेका छन्,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।