लोड हुँदैछ...

मेनु

लगातार दोस्रो दिन उकालो लाग्यो नेप्से, २८५१ विन्दु पार

लगातार दोस्रो दिन उकालो लाग्यो नेप्से, २८५१ विन्दु पार

काठमाडौं । नेप्से परिसुचक बिहीबार पनि बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार उकालो लागेको बजारले आज पनि सोही सकारात्मक लय कायम राखेको हो।

यस दिन नेप्से परिसूचक ४८.७१ अंकले वृद्धि भई २८५१.२४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.६४ अंक, फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले बढेका छन्।

कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ३३८ स्टकको १ लाख ८ हजार ८६९ पटकको कारोबारबाट ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। कुल २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर कारोबार भएका छन्।

यस दिन ८ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले उच्च लाभ कमाएका छन्। हिम स्टार उर्जा कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढी बढ्दा हिमालयन रि इन्स्योरेन्सको शेयर पनि ७ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य भने सबैभन्दा धेरै ६.७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ४३ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। रिडी पावर कम्पनी र हिमालयन रि इन्स्योरेन्स पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

१३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूह सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन, जलविद्युत र उत्पादन–प्रशोधन समूह २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा समूह पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।