विराटनगर । अमेरिका र इरानबीच जारी तनाव दुई साताका लागि मत्थर भएसँगै विश्व बजामरा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।
इरान र अमेरिकबीच दुई साताका लागि बुधबार युद्धविराम गर्ने सहमति भएको थियो । उक्त सहमतिपछि कच्चा तेलको मूल्य घटेको हो ।
कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण निरन्तर तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो । युद्धविरामको सहमतिसँगै महत्वपूर्ण हर्मुज जलमार्ग खुल्ने आशा बढ्दा तेलको मूल्य घटेको हो ।
विश्वको २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलमार्ग इरानले पुनः सञ्चालन गर्न सहमति जनाएपछि बजारमा तेलको उपलब्धता सहज हुने देखिएकाले पनि मूल्य घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कच्चा तेलको मूल्य घटेको र सरकारले इन्धन आयातमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएसँगै नेपाली उपभोक्ताले त्यसको सकारात्मक प्रभाव एक सातापछि अनुभूति गर्न सक्नेछन् ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य अनुसार स्थानीय बजारमा मूल्य समायोजन हुने गर्छ । आइओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही अनुसार नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले नेपालमा त्यसको प्रभाव एक सातापछि देखिने जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।