विराटनगर । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर २८०० विन्दुभन्दा माथि पुगेको हो ।
यस दिन नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.७५ अंक, फ्लोट इन्डेक्स २.८९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि वृद्धि भएको छ। मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ वटा स्टकको ९८ हजार १६२ पटक कारोबार हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन ७ वटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किटमा पुगेका छन् । त्यस्तै, सान्भि इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी र बन्दीपुर केबलकार एन्ड टुरिजमको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयर मूल्य भने यस दिन सबैभन्दा बढी ४.३५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ४२ करोड रुपैयाँभन्दा बढी र शिवम् सिमेन्ट्सको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र जलविद्युत उपसमूह साढे २ प्रतिशतभन्दा धेरैले बढेका छन् भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।