लोड हुँदैछ...

मेनु

तीनकुने पोखरीमा पर्यटकको घुइँचो, पर्यटन प्रवर्द्धनका लागि महोत्सव

तीनकुने पोखरीमा पर्यटकको घुइँचो, पर्यटन प्रवर्द्धनका लागि महोत्सव

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ।

पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेहरूको घुइँचो लाग्ने गरेको छ।

स्थानीयवासीको सक्रियतामा गरिएको पूर्वाधार विकाससँगै पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले तीनकुने पोखरीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको स्थानीय चेतन आङथुपोले बताए। उनका अनुसार विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन यहाँ उल्लेख्य भीड हुने गरेको छ।

यसैबीच, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘तीनकुने पर्यटन महोत्सव’ सुरु भएको छ। स्थानीय ‘तीनकुने पोखरी सिमसार क्षेत्र’को आयोजनामा पोखरी नजिकैको खुला मैदानमा महोत्सव सञ्चालन भइरहेको हो, जुन वैशाख १ गतेसम्म चल्नेछ।

‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ मूल नारासहित सञ्चालन भइरहेको महोत्सवमा स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ। आयोजक समिति संयोजक नगीन्द्र श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा वेषभूषा प्रदर्शन गरिँदैछ।

कार्यक्रममा लिम्बू समुदायको च्याब्रुङ नाच (केःलाङ), राई समुदायको साकेला, नेवार समुदायको लाखे, तामाङ समुदायको सेलो, मगर समुदायको मारुनी र खसआर्य समुदायको सङ्गिनी नृत्य प्रस्तुत गरिनेछ। साथै स्थानीय हस्तकला, रैथाने खानपान र उत्पादनहरूको प्रदर्शनीसमेत राखिएको छ। महोत्सवमा चर्चित कलाकारहरू राजेशपायल राई, साहिल लिम्बू, पूजा लामा, पदम राई र एलिना चौहानसहित अन्य स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

करिब ६ बिघा क्षेत्रफलमा फैलिएको तीनकुने पोखरी सिमसार क्षेत्र पर्यावरणीय र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । २०५२ सालमा स्थानीय अगुवाले खोल्सी बाँधेर पानी संकलन गर्न थालेको यस क्षेत्रलाई २०७२ सालदेखि औपचारिक रूपमा पोखरीका रूपमा विकास गरिएको हो।

समुद्री सतहबाट करिब १८५ मिटर उचाइमा रहेको यो पोखरी पूर्व–पश्चिम राजमार्गबाट करिब साढे ५ किलोमिटर उत्तरतर्फ पर्दछ। झापाको केर्खा बजार–पाडाजुङ्गी हुँदै सजिलै सवारीसाधनबाट पुग्न सकिन्छ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले महोत्सवले तीनकुने पोखरीको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।