बुटवल । प्रहरीले गोली चलाएर रुपन्देहीको रोहिणी गाउँपालिकाबाट तीन जना लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनमध्ये एक जनालाई प्रहरीको गोली लागेको छ । वाँया खुट्टाको पिडुलामा गोली लागेर सोही गाउँपालिका २ का विशाल यादव घाइते भएका छन् । उनको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
रोहिणी गाउँपालिका ४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्न थालेपछि प्रहरीले गोली चलाएको जनाएको छ । गोली लागेर युवक ढलेपछि उनीहरुले प्रहरीमाथि ढुंगा हान्न थालेपछि प्रहरीले गोली चलाएको बताएको छ ।
प्रहरीले विशाल यादव, भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको छ ।
यसैबीच प्रहरीले काठमाडौंको गौशालापिंगलास्थान क्षेत्रबाट पनि लागूऔषध कारोबारको आशंकामा गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।