लोड हुँदैछ...

मेनु

काम गरेर देखाउने समय आएको छ : राउत

काम गरेर देखाउने समय आएको छ : राउत

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएपछि राजेन्द्र राउतले आफ्नो चुनावी बाचालाई कामबाटै प्रमाणित गर्ने अठोट व्यक्त गरेका छन् ।

विराटनगरमा सम्पन्न निर्वाचनमा भारी बहुमतका साथ विजयी भएपछि विजय मन्तव्य दिँदै राउतले अबको समय गफ गर्ने नभई नतिजा निकाल्ने भएको बताएका हुन् ।

अवीर र मालाले सजिएका नवनिर्वाचित अध्यक्ष राउतले भने, ‘मैले हरेक जिल्लामा जाँदा एउटै कुरा बोल्ने गरेको थिएँ— म अहिले केही बोल्दिन, जुन दिन म विजयी भएर आउँछु, त्यो दिन गरेर देखाउँछु । आज त्यो दिन आएको छ, मैले यहाँहरूको सामु जे बाचा गरेको छु, त्यो पूरा गरेरै देखाउनेछु ।’

चुनावी अभियानका क्रममा आफूलाई साथ दिने सम्पूर्ण मतदाता, शुभचिन्तक र उद्योगी(व्यवसायीहरूलाई धन्यवाद दिँदै उनले आफ्नो जितलाई सबैको साझा जितको रूपमा व्याख्या गरे । ‘जुन विश्वासका साथ यहाँहरूले मलाई बहुमत दिएर विजयी गराउनुभएको छ, त्यसका लागि म मुरी–मुरी धन्यवाद दिन चाहन्छु, उनले भने, ‘कुनै पनि राम्रो काम गर्नका लागि संघर्ष गर्नुपर्छ भन्ने कुरा यो निर्वाचनले देखाएको छ ।’

राउतले निर्वाचनलाई सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन समितिका सदस्यहरू, महासंघका पदाधिकारीहरू, आफ्ना सहकर्मी साथीहरू र परिवारका सदस्यहरूप्रति पनि आभार प्रकट गरे । दोस्रो कार्यकालका लागि चुनिएका राउतले आगामी दिनमा कोशी प्रदेशको आर्थिक र औद्योगिक विकासका लागि अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।