विराटनगर । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभावका कारण कोशी प्रदेशका उच्च हिमाली भेगमा हिमपात र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा मौसममा आएको यो बदलावसँगै जनजीवनमा सामान्य असर देखिन थालेको छ । अहिले सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रमा बादल लागेको अवस्था भए पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको छ ।
गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् । गण्डकीसँगै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा पनि फाट्टफुट्ट पानी परिरहेको छ । विशेषगरी कोशी प्रदेशको उच्च हिमाली भेगमा हिमपातको प्रक्रिया जारी रहेकाले चिसो बढ्नुका साथै हिमाली क्षेत्रको चहलपहल प्रभावित भएको छ । सोमबार दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी भागमा पनि आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ ।
आज पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाले महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षा र चट्याङको जोखिमलाई मध्यनजर गर्दै पहाडी भेगका बासिन्दालाई सुरक्षित रहन र पदयात्रामा रहेका पर्यटकहरूलाई मौसमको अवस्था बुझेर मात्र यात्रा अघि बढाउन सुझाव दिइएको छ । हिउँ र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमप्रति सजग रहन मौसमविद्ले हिमाली क्षेत्रका बासिन्दालाई समेत सचेत गराएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।