विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि अहिले केहि बेरमा विराटनगरमा मतदान हुँदै छ । महासंघको जारी ८औँ प्रदेशसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।
यस पटकको निर्वाचनमा राजेन्द्र राउत र नवीन रिजालले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुवै पक्षले आ–आफ्नो समूहलाई बलियो दाबी गर्दै व्यावसायिक हकहितका एजेन्डाहरू अघि सारेका छन् । राजेन्द्र राउतको नेतृत्वमा रहेको प्यानलबाट सदस्य पदका लागि कृष्ण प्रसाद रिजाल, राजु ढुङ्गाना (राजिव), जय प्रकाश शर्मा, खड्ग बहादुर श्रेष्ठ र नवीन कुमार चौधरी चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, वस्तुगततर्फ सोही प्यानलबाट सुवास आचार्य र दीपक पाण्डेले उम्मेदवारी दिएका छन् ।
अर्कोतर्फ, नवीन रिजालको नेतृत्वमा रहेको प्यानलबाट सदस्य पदमा नर बहादुर भण्डारी र शोभा कोइरालाले प्रतिस्पर्धा गरिरहेका छन् भने वस्तुगततर्फ धन बहादुर काफ्ले चुनावी मैदानमा छन् । कोशी प्रदेशका उद्योगी र व्यवसायीहरूको छाता संगठनको नेतृत्व कसको हातमा पुग्ने भन्ने विषयलाई अहिले निकै चासोका साथ हेरिएको छ । मतदान सकिए लगत्तै गणना सुरु गरी नयाँ नेतृत्वको घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।