विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि अहिले केहीबेरमा मतदान हुँदैछ। विराटनगरमा जारी महासंघको ८औँ प्रदेशसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न लागेको हो।
निर्वाचनमा पदाधिकारीतर्फ अध्यक्ष बाहेकका अन्य ४ पदमा एकल उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। यद्यपि, निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ।
यी हुन् निर्विरोध निर्वाचित हुने पदाधिकारीहरू
निर्वाचन समितिका अनुसार जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगत तर्फको उपाध्यक्षमा राजन श्रेष्ठ , एशोसिएट्स उपाध्यक्षमा रविन कुमार दाहाल र कोषाध्यक्षमा श्रवण कुमार अग्रवाल निर्विरोध हुने भएका हुन्। निर्विरोध भएका यी सबै पदाधिकारीहरू अध्यक्षका उम्मेदवार राजेन्द्र राउत समूहका रहेको बुझिएको छ। बस्तुगत उपाध्यक्षमा आदित्य पराजुलीले पनि उम्मेदवारी दिएका थिए । पछि उनले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि श्रेष्ठ सर्वसम्मत उपाध्यक्षमा चयन भएका हुन् ।
महासंघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र केन्द्रीय सदस्य नविन रिजाल चुनावी मैदानमा उत्रिएका छन्। राउत र रिजालबीचको यो प्रतिस्पर्धा रोचक मोडमा छ। करिब ८ वर्षअघि मोरङ व्यापार संघको निर्वाचनमा पनि यी दुई नेता आमने–सामने भएका थिए, जसमा रिजाल विजयी भएका थिए।
यसपटकको निर्वाचनमा महासंघभित्र स्पष्ट रूपमा दुई समूहगत ध्रुवीकरण देखिएको छ। राउतलाई महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल निकट मानिन्छ भने रिजाल वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ पक्षसँग नजिक छन्।
शिवम् अर्गनाइजेसनका अध्यक्ष राजेन्द्र राउत महासंघ कोशीका संस्थापक सदस्य हुन् र उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ। यता, मोरङ व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाल बैंक ब्याजदर वृद्धि र उद्योगीका समस्या समाधानमा सडक आन्दोलनको नेतृत्व गरेका कारण व्यवसायीमाझ परिचित छन्।
सदस्य पदमा पनि चुनाव
अध्यक्षसँगै विभिन्न विधाका सदस्य पदका लागि पनि मतदान हुँदैछ। जिल्ला नगरतर्फ ५ सदस्यका लागि कृष्ण प्रसाद रिजाल, राजु ढंगुना, शेर बहादुर भण्डारी, जय प्रकाश शर्मा, शोभा कोइराला, खड्ग बहादुर श्रेष्ठ र नविन कुमार चौधरी गरी ७ जनाको उम्मेदवारी परेको छ।
त्यसैगरी, २ जना वस्तुगत सदस्यका लागि सुवास आचार्य, धनबहादुर काफ्ले र दिपक पाण्डे गरी ३ जना प्रतिस्पर्धामा छन्। एशोसिएट्स सदस्यमा देवकी नन्दन अग्रवाल र भविश कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
निर्वाचनमा कुल २०५ जना मतदाता रहेका छन्। जसमा जिल्ला–नगर उद्योग वाणिज्य संघबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटतर्फबाट १४८ जनाले मतदान गर्नेछन्। यस निर्वाचनमार्फत १ अध्यक्ष, ३ उपाध्यक्ष, १ कोषाध्यक्ष र ९ सदस्य गरी कुल १४ सदस्यीय प्रदेश कार्यसमिति चयन हुनेछ। मतदान सकिएलगत्तै गणना सुरु गरिने र आजै रातिसम्ममा परिणाम घोषणा गर्ने तयारी निर्वाचन समितिले गरेको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।