खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीका कारण घरको छाना उडाएर बिचल्लीमा परेका ९४ घरधुरीलाई जस्तापाता वितरण गरेको छ।
चैत २ गते आएको हावाहुरीबाट प्रभावित परिवारको घर पुनर्निर्माणका लागि जस्तापाता वितरण गरिएको हो।
नगरपालिकाका अनुसार वडा–१ बाहुनीडाँडाका ११ घरधुरीलाई ४१.१ बण्डल, वडा–२ डिकुवाका १० घरधुरीलाई ३८.२ बण्डल, वडा–३ च्यास्मिटारका ३२ घरधुरीलाई १२५.२ बण्डल, वडा–४ बडहरेका ४ घरधुरीलाई १६.४९ बण्डल, वडा–५ दुर्छिमका २ घरधुरीलाई ६ बण्डल, वडा–६ मङ्गलटारका ३ घरधुरीलाई ११.६ बण्डल, वडा–८ धितुङका १० घरधुरीलाई ३३.९ बण्डल र वडा–७ हलेसीमहादेवस्थानका १ घरधुरीलाई ४ बण्डल गरी कुल ३१८.८९ बण्डल जस्तापाता वितरण गरिएको छ।
नगर प्रवक्ता कमल गिरीका अनुसार हावाहुरीपछि बसेको नगर कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको बैठक र त्यसपछि चैत ९ गतेको हिउँदे अधिवेशनबाट आवश्यक बजेट व्यवस्था गरी राहत वितरण गरिएको हो। प्राविधिक मूल्यांकनका आधारमा प्रत्येक घरधुरीलाई आवश्यकताअनुसार जस्तापाता प्रदान गरिएको उनले बताए।
यसैबीच, हावाहुरीले क्षति पुर्याएका ७ वटा विद्यालयलाई समेत जस्तापाता उपलब्ध गराउने तयारी गरिएको नगरपालिकाले जनाएको छ। प्रदेश सरकारबाट सहयोग आउने अपेक्षा गरिए पनि उपलब्ध नभए नगरपालिकाले नै व्यवस्था गर्ने प्रवक्ता गिरीले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।