विराटनगर । मिटरब्याजको धन्दा चलाउने समूहले ज्यान मार्ने धम्की दिँदै मानसिक तनाव दिएको भन्दै विराटनगरका एक यातायात व्यवसायीले प्रहरीमा उजुरी दिएका छन् ।
विराटनगर महानगरपालिका–१२ का ६१ वर्षीय राजन क्षेत्री कँडेलले आफू र आफ्नो परिवारमाथि संगठित रुपमा मिटरब्याजी समूहले आक्रमण र धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा शुक्रबार जाहेरी दर्ता गराएका हुन् ।
कँडेलले विराटनगरका पाँच जना व्यक्तिहरूको नामै किटान गरेर ‘अनुचित लेनदेन’ (मिटरब्याज) मुद्दामा कारबाहीको माग गरेका छन् । जाहेरीमा विराटनगर–९ का ४१ वर्षीय एजाज अहमद, ३९ वर्षीय विष्णु कुमार साह, ५२ वर्षीय आशिष निरौला, भोलेनाथ गुप्ता र विराटनगर–७ का प्रवीन जैनलाई प्रतिवादी बनाइएको छ । कँडेलका अनुसार गत चैत १५ गते बिहान आशिष निरौलासहितको समूहले उनको घर घेराउ गरी परिवारलाई नै आतंकित पारेको थियो ।
“एउटा सामान्य व्यवसाय गरेर खाइरहेको मान्छेलाई यो समूहले सडकमै ल्याइदिएको छ,” कँडेलले भने, “मेरो हस्ताक्षर नभएका र कुनै लेनदेन नै नभएका नक्कली चेकहरू देखाएर ५ करोड ६० लाख रुपैयाँ माग गर्दै परिवारका सदस्यलाई नै गायब पारिदिने धम्की दिइएको छ ।”
सिटीजन्स बैंक प्रकरणसँग जोडिएको साइनो
यो विवादको चुरो कँडेलकी छोरी रोजी कँडेलसँग जोडिएको छ । सिटीजन्स बैंकको कन्चनबारी शाखामा कार्यरत रहँदा रोजीले १३ जना नक्कली ऋणी खडा गरी ४ करोड ९१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । बैंकको जाहेरीपछि प्रहरीले रोजीमाथि अनुसन्धान सुरु गरेलगत्तै उनी हाल फरार छिन् ।
रोजी फरार भएपछि उनीसँग कारोबार रहेको दाबी गर्दै यो समूहले बुवा राजनमाथि दबाब बढाएको हो । कँडेलका अनुसार उक्त समूहसँग उनको श्रीमती र छोरा–बुहारीका ६–७ वटा चेकहरू छन्, जुन छोरीले बैंकमा कार्यरत रहँदा लिएको हुनसक्ने उनको आशंका छ । “मैले कहिल्यै हस्ताक्षर नगरेको र लेनदेन नै नभएको अवस्थामा मलाई ५ करोडभन्दा बढी तिर्न दबाब दिइँदैछ,” कँडेलले थपे ।
आरोपको खण्डन
यता, जाहेरी परेकामध्ये आशिष निरौलाले भने आफूहरू मिटरब्याजी नभएको दाबी गरेका छन् । उनले जग्गा व्यवसायको सिलसिलामा रोजी कँडेललाई ७०–८० लाख रुपैयाँ सापटी दिएको र सोही पैसा फिर्ता माग्न घर गएको बताए । “हामीले मिटरब्याजमा पैसा दिएका होइनौँ, आफ्नो पैसा माग्न जाँदा हामीलाई फसाउन खोजियो,” निरौलाले भने ।
अर्का आरोपित भोलेनाथ गुप्ताले आफूले आशिष निरौलालाई १० लाख रुपैयाँ दिएको तर कँडेल परिवारसँग सिधा सम्बन्ध नरहेको बताए । यस्तै, विष्णु कुमार साहले भने शुक्रबार राति नै सहमतिको प्रयास भइसकेको र व्यक्तिगत लेनदेनको विषयलाई राजनीतिकरण गर्न खोजिएको दाबी गरे । जाहेरी परेका एजाज अहमद र प्रवीन जैन भने सम्पर्कमा आएनन् ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले मिटरब्याज र धम्कीको उजुरी परेकाले त्यसबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए । “बैंक ठगी प्रकरणमा फरार रहेकी रोजी कँडेल पक्राउ परेपछि धेरै कुरा स्पष्ट हुनेछ,” एसपी कटवालले भने, “अहिले परेको अनुचित लेनदेनको उजुरीका सम्बन्धमा दुवै पक्षलाई झिकाएर सत्यतथ्य बुझ्ने काम भइरहेको छ ।”






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।