विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरमा ‘नागरिक सुनुवाइ कार्यक्रम’ शुक्रबार सम्पन्न गरेको छ ।
विराटनगर–२ मुनालपथस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा र जनगुनासो सम्बोधनका विषयमा विस्तृत छलफल भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ट्राफिक व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी निकाय तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशी, यातायात व्यवस्था कार्यालय मोरङका प्रतिनिधि योगेश खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक बद्री दाहाल र जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि परमेश्वर भट्टराईको सहभागिता थियो । त्यसैगरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेल, वडा नं. २ का वडा सदस्य शेरसिंह दुगड लगायत बुद्धिजीवी, सञ्चारकर्मी र स्थानीय बासिन्दा गरी २१३ जनाको उपस्थिति रहेको थियो ।
सुनुवाइका क्रममा जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल गरिएको थियो । सो अवसरमा ट्राफिक प्रहरीले दैनिक रूपमा सम्पादन गर्ने कार्यहरूको विवरण प्रस्तुत गर्दै नागरिकका गुनासो र समस्याहरू समेत संकलन गरिएको थियो ।
कार्यक्रमका सहभागीहरूले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन र ट्राफिक नियमको पालनामा कडाइ गर्न सुझाव दिएका थिए । कार्यालय प्रमुख प्रहरी निरीक्षक न्यौपानेले प्राप्त सुझावहरूलाई आत्मसात् गर्दै आगामी दिनमा ट्राफिक व्यवस्थापनलाई थप जनमुखी र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।