लोड हुँदैछ...

मेनु

डा. शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउने

डा. शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउने

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी कांग्रेसलाई एकढिक्का बनाउने अभियानमा आफू केन्द्रित रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले आफू कुनै पनि समूह वा पक्षमा नरहेको स्पष्टीकरण दिए । सामाजिक सञ्जालहरूमा आफूलाई यो वा त्यो गुटको भनेर प्रचार गरिएकोमा आपत्ति जनाउँदै उनले आफ्नो मूल लक्ष्य नै छरिएको कांग्रेसलाई एकीकृत गर्नु रहेको दाबी गरे । उनले भने, ‘नेपाली कांग्रेसलाई एकढिक्का बनाउन र एक ठाउँमा ल्याउन म अन्त्यसम्म प्रयास गर्नेछु, म कुनै पनि ग्रुपमा छैन ।’

पार्टीभित्र डा. कोइरालाको भूमिका भने केही विरोधाभासपूर्ण देखिँदै आएको छ । सुरुमा विशेष महाधिवेशनको पक्षमा नरहेका उनी पछि सोही महाधिवेशनमा सभापति पदका लागि प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । सभापतिमा पराजित भएपछि पनि उनले लगातार संस्थापनइतर (विपक्षी) समूहको नेतृत्व गर्दै सोही समूहका बैठकहरूको अध्यक्षता गर्दै आएका छन् । यसरी व्यवहारमा एउटा निश्चित समूहको खम्बाका रूपमा देखिए तापनि उनले सार्वजनिक मञ्चहरूबाट भने आफू कुनै पक्षमा नरहेको दाबी गर्न छोडेका छैनन् ।

आगामी निर्वाचनमा कांग्रेसलाई मुलुकको पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउन पार्टीभित्र एकता अनिवार्य रहेको कोइरालाको भनाइ थियो । उनले पार्टी एकीकृत भए मात्रै जनअपेक्षा अनुसार काम गर्न सकिने जिकिर गरे ।

सोही अवसरमा उनले विपी कोइरालाको नाममा स्थापित अस्पताललाई थप प्रभावकारी बनाउन अवकाशप्राप्त चिकित्सकहरूको विज्ञता र अनुभवलाई विशेष रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।