लोड हुँदैछ...

मेनु

कोशीमा ५ वर्षमा आफन्तबाटै २०२ जनाको हत्या

कोशीमा ५ वर्षमा आफन्तबाटै २०२ जनाको हत्या

विराटनगर । कोशी प्रदेश प्रहरीको पछिल्लो तथ्याङ्कले सुरक्षित आश्रयस्थल मानिने घरभित्रै जघन्य अपराधको घटना बढेको पाइएको छ ।

प्रहरी अभिलेख अनुसार विगत चार वर्ष आठ महिना (२०७८ देखि २०८२ फागुनसम्म) को अवधिमा प्रदेशभर आफन्तबाटै २०२ जनाको ज्यान लिइएको छ । यी घटनाको अनुसन्धानका क्रममा प्रहरीले १७८ पुरुष र ४२ महिलासहित २२० जनालाई कानुनी कारवाही भएको छ । तथ्याङ्कले आफन्तबाट हुने हत्याको ग्राफ बर्सेनि उकालो लागिरहेको देखाउँछ । आर्थिक वर्ष २०७८र७९ मा ४१ जनाको हत्या भएकोमा २०८१/ ८२ मा यो सङ्ख्या बढेर ४९ पुगेको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै २९ जनाले आफ्नै प्रियजनको हातबाट ज्यान गुमाइसकेका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार पारिवारिक किचलो, कुलत र प्रेममा हुने धोका नै अपराधका मुख्य कारक हुन् । ‘यस्ता हत्यामा आर्थिक, सामाजिक, मानसिक र यौनिक कारणहरू जेलिएका हुन्छन्,’ डीआईजी घिमिरे भन्छन्, ‘अधिकांश हत्या आपसी विवाद र शंकाबाट सुरु हुन्छन् । विशेष गरी श्रीमतीको हत्यामा दम्पतीबीचको अधिकार असन्तुलन र लैङ्गिक हिंसा मुख्य कडी देखिएको छ ।’

लागूऔषध र मदिराको अनियन्त्रित सेवनले मानिसको विवेक शून्य बनाउने र त्यसपछि हुने विवादले हत्याको रूप लिने गरेको प्रहरीको अनुभव छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाल आवेग नियन्त्रण गर्न नसक्नु र आफन्तलाई नै आफ्नो प्रगतिको बाधक देख्नुले पनि यस्ता क्रूर घटना निम्त्याइरहेको बताउँछन् ।

समाजशास्त्री डा. डिल्लीराम प्रसाईं पारिवारिक संरचनामा आएको तीव्र बदलाव र व्यक्तिवादी सोचलाई यसको प्रमुख कारक मान्छन् । ‘अहिले मानिसमा सामूहिकता र हार्दिकता हराउँदै गएको छ, केवल ‘म र मेरो’ भन्ने सोच हाबी छ,’ उनी भन्छन्, ‘प्रविधिको दुरुपयोगले मानिसलाई एकाङ्की बनाएको छ, जसले गर्दा स–साना कुरामा पनि मानिसहरू चरम क्रूर बन्न थालेका छन् ।’

मनोविमर्शकर्ताहरूका अनुसार समाजमा व्याप्त दण्डहीनता र पितृसत्तात्मक अहङ्कारले घरभित्रै हिंसा बढाइरहेको छ । मनोविमर्शकर्ता मन्जिता उपाध्याय भन्छिन्, ‘शक्ति र शक्तिहीनता बीचको खाडल नै हिंसाको जड हो । म श्रीमान् वा प्रेमी हुँ, मैले जे भन्यो त्यही हुनुपर्छ भन्ने मानसिकताले आफ्नै प्रियजनको ज्यान लिने स्थिति बनेको छ ।’

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले घरभित्रै हुने अपराधमा सामाजिक सञ्जालको नकारात्मक भूमिका र बढ्दो बेरोजगारीले जन्माएको आक्रोशलाई दोषी देख्छन् । ‘सामाजिक सञ्जालका अल्गोरिदमले मानिसलाई झन् आक्रामक बनाइरहेका छन्,’ उनी भन्छन्, ‘बेरोजगारी र प्रविधिले ल्याएको एकाकीपनले मानिसमा वितृष्णा थपेको छ । यस्ता कुराहरूलाई नियमन र नियन्त्रण गर्नेतर्फ राज्यले गम्भीर भएर नसोचे घरभित्रको सुरक्षा झन् चुनौतीपूर्ण बन्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds