विराटनगर । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवालले नेपालले जनस्वास्थ्यका क्षेत्रमा हासिल गरेको उपलब्धि दक्षिण एसियाकै लागि एउटा ‘मोडल’ भएको बताएका छन् ।
विराटनगरमा शुक्रबार आयोजित संघको कोशी प्रदेश कार्यसमितिको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष खण्डेलवालले नेपालको स्वास्थ्य प्रणालीको विकासमा अस्पतालहरूको मात्र नभई देशका कुनाकाप्चासम्म औषधि पुर्याउने व्यवसायी र कर्मचारीहरूको ठूलो भूमिका रहेको उल्लेख गरे । ‘नेपालको जनस्वास्थ्य क्षेत्र पहिलाभन्दा निकै माथि आएको छ, यसलाई दक्षिण एसियामा एउटा उदाहरणीय व्यवस्थाका रूपमा हेरिन्छ,’ उनले भने, ‘यसमा हाम्रा ती साथीहरूको ठूलो योगदान छ, जो विकट क्षेत्रमा पुगेर अहोरात्र सेवा दिइरहेका छन् ।’
उनले औषधि व्यवसायी संघको साङ्गठनिक र भौतिक संरचना देशैभर विस्तार हुनु गौरवको विषय भएको बताए । न्युरोडको एउटा सानो कोठाबाट सुरु भएको संघको यात्रा अहिले सातै प्रदेश र जिल्लाहरूमा आफ्नै सुविधासम्पन्न भवन र सभाहलसम्म आइपुगेको उनले स्मरण गरे । कोशी प्रदेशको नवनिर्मित सभाहल निर्माणमा समेत आफूले यथाशक्य सहयोग गरेको बताउँदै उनले प्रथम अध्यक्ष कुमार खतिवडाको योजनाले मूर्तरूप लिएकोमा खुसी व्यक्त गरे ।
नेतृत्वले गर्ने नीतिगत निर्णयले आम व्यवसायीको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै खण्डेलवालले नेतृत्वलाई थप संवेदनशील बन्न आग्रह गरे । ‘कुनै पनि तहको नेतृत्वले नीतिगत निर्णय गर्दा त्यसको असर र प्रभावबारे गम्भीर हुनुपर्छ,’ उनले सुझाए, ‘अनुभवी र अग्रज व्यवसायीहरूसँग पर्याप्त सल्लाह र परामर्श लिएर अघि बढे मात्र नेतृत्व सफल हुन्छ र संस्थाप्रति सदस्यहरूको विश्वास बढ्छ ।’
आफ्नो तीन वर्षे कार्यकालको सुरुवातलाई ‘भिटामिन’ सँग तुलना गर्दै उनले यो अवधि औषधि व्यवसायलाई थप सुदृढ र स्वास्थ्यवर्धक बनाउन केन्द्रित हुने प्रतिबद्धता जनाए । साधारणसभामा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य प्रदिप कुमार दास, कोशी प्रदेशका निर्वतमान अध्यक्ष कुमार खतिवडा, वर्तमान अध्यक्ष धनराज काफ्ले, मोरङका अध्यक्ष देशबन्धु ढकालले बोलेका थिए । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका औषधि व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।