इलाम । इलामको देउमाई नगरपालिका–मङ्गलबारेमा कक्षा ७ का एक विद्यार्थीमाथि अमानवीय व्यवहार गर्दै कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार भानुभक्त माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक अंकित दमाई र बस चालक सुसन मगरलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार दमाई प्राविधिक धार अन्तर्गत सिभिल इन्जिनियरिङ सहायक प्रशिक्षक हुन्। उनीहरू दुवैले विद्यार्थीलाई मङ्गलबारेकै एक होटलमा बोलाएर निर्घात कुटपिट तथा यातना दिएको आरोप लागेको छ।
घटनाको भिडियोसमेत सार्वजनिक भएको बताइएको छ। स्रोतका अनुसार शिक्षक र चालकले विद्यार्थीलाई रक्सी सेवन गराउँदै शरीरका कपडा खोल्न लगाई संवेदनशील अङ्गमा सिस्नु पानी लगाएका थिए। पीडितले पोलो भन्दै रुन–कराउन थालेपछि थप कुटपिट गरिएको दाबी गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार केही दिनअघि विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत शिक्षकलाई गाली गरेको विषयमा आक्रोशित हुँदै यस्तो व्यवहार गरिएको हुन सक्ने प्रहरीले जनाएको छ।
अमानवीय तरिकाले विद्यार्थीमाथि कुटपिट गरिएको भन्दै प्रहरीमा उजुरी परेपछि दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।