पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडास्थित गुरासे–सुभाङ भित्री कच्ची सडकमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार अपराह्न करिब २ बजे दोक्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे।१ च ६०२९ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो।
अमलिसो (कुच्चो) बोकेको गाडी दुर्घटनापछि प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुबेदीको कमाण्डमा खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो। उपचारका क्रममा हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको अस्पतालले जनाएको छ।
दुर्घटनामा घाइते सोही स्थानका २४ वर्षीय सन्दिप उभरकोटीको उपचार भइरहेको छ र उनी सामान्य अवस्थामा रहेका छन्। चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली पनि सामान्य घाइते रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।