लोड हुँदैछ...

मेनु

लगातारको पहिरोमा ‘ब्रेक’ : ५ अंकको सान्त्वना वृद्धि

लगातारको पहिरोमा ‘ब्रेक’ : ५ अंकको सान्त्वना वृद्धि

विराटनगर । विगत चार कारोबार दिनमा १७१ अंकको भारी गिरावट खेपेको सेयर बजारमा बिहीबार झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन मात्रै करिब ७५ अंकले घटेको बजारमा आज ५.८२ अंकको वृद्धि देखिएको हो, जसलाई लगानीकर्ताहरूले लगातारको ठूलो गिरावटपछिको सामान्य सान्त्वनाका रूपमा लिएका छन् । आजको वृद्धिसँगै नेप्से परिसूचक २७८२ अंकमा कायम भएको छ । कारोबारका दौरान नेप्से २८०८ अंकसम्म पुगे पनि अन्तिममा सामान्य सुधारमा खुम्चियो ।

बजार बढे पनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो दिन १२ अर्ब १० करोडको कारोबार भएकोमा आज ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भयो । बजारमा ९८ कम्पनीको मूल्य बढ्दा १५८ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो । सूचक सकारात्मक देखिए पनि अधिकांश कम्पनीको मूल्य घटेकाले बजार अझै दबाबमुक्त भइसकेको देखिँदैन ।

उपसमूहतर्फ व्यापार समूह २.५३ प्रतिशत र उत्पादन तथा प्रशोधन १.७६ प्रतिशतले बढेका छन् । त्यस्तै लगानी, जलविद्युत्, होटल तथा पर्यटन र विकास बैंक समूहमा पनि सुधार देखियो । तर, बैंकिङ, फाइनान्स, बीमा र लघुवित्त जस्ता ठूला समूहका सूचक भने ओरालो लागेका छन् ।

आज ६ वटा भर्खरै सूचीकृत कम्पनीहरूको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् । अर्कोतर्फ भूगोल इनर्जी, क्रेस्ट माइक्रोफाइनान्स र अभियान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज बजारमा एसवाई प्यानल र ङादी ग्रुप लगायतका कम्पनीको सर्वाधिक कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।