लोड हुँदैछ...

मेनु

ज्याला नपाएपछि अरुण तेस्रो आयोजना ठप्प, मजदुर आन्दोलनमा

ज्याला नपाएपछि अरुण तेस्रो आयोजना ठप्प, मजदुर आन्दोलनमा

विराटनगर । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम मजदुर आन्दोलनका कारण ठप्प भएको छ।

आयोजनामा कार्यरत मजदुरहरूले ६ महिनादेखि ज्याला नपाएको भन्दै आन्दोलनमा उत्रिएपछि निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको हो।

जलविद्युत् आयोजनाको ठेक्का भारतीय कम्पनी पटेल इन्जिनियरिङले पाएको छ भने मुख्य निर्माण भारतीय सतलज कम्पनीमार्फत भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका अनुसार निर्माण कम्पनीले पेटी ठेकेदारहरूलाई भुक्तानी नगर्दा उनीहरूले मजदुरको ज्याला रोकिएको हो। त्यसपछि मजदुरहरूले आफूहरूले पाउनुपर्ने पारिश्रमिक माग गर्दै आन्दोलन सुरु गरेका हुन्।

संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले मजदुरले ज्याला नपाएको गुनासो पटक–पटक आएको बताइन्। “हामीले सम्बन्धित कम्पनीलाई समस्या समाधान गर्न बारम्बार आग्रह गरेका छौँ । तर, अहिलेसम्म समाधान भएको जानकारी आएको छैन,” उनले भनिन्। यस विषयमा कम्पनीका उच्च तहसँग पनि छलफल भएको उनले उल्लेख गरिन्।

नौ सय मेगावाट क्षमताको उक्त आयोजनामा एक हजारभन्दा बढी मजदुर कार्यरत छन्। तर, सबैले ज्याला पाएका छन् वा छैनन् भन्ने विस्तृत विवरण प्रशासनसँग नभएको बताइएको छ।

आयोजनाको ड्याम फ्याक्सिदा क्षेत्रमा र विद्युत्गृह पखुवा क्षेत्रमा निर्माण भइरहेको छ, जहाँ नेपाली र भारतीय कामदार कार्यरत छन्। पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनाको लागत करिब एक खर्ब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ।

आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए भने आयोजना विकास सम्झौता विसं २०७१ मङ्सिर १० गते भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।