लोड हुँदैछ...

मेनु

लेखापढी व्यवसायी पक्राउको विरोध, १७ जना प्रहरीको नियन्त्रणमा

लेखापढी व्यवसायी पक्राउको विरोध, १७ जना प्रहरीको नियन्त्रणमा

इनरुवा । सुनसरीका विभिन्न सरकारी कार्यालय परिसरबाट लेखापढी व्यवसायीहरूलाई बिनाकारण पक्राउ गरिएको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन सुनसरीले आपत्ति जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सेवाग्राहीलाई दुःख दिने बिचौलियाको गतिविधि बढेको गुनासोपछि अनुगमन गर्दै केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार मालपोत र यातायात कार्यालय परिसरबाट डेढ दर्जन बढिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । उनीहरुमध्ये केहीले कानुनसम्मत रूपमा काम गरिरहेको प्रमाण देखाएपछि रिहा गरिएको र अन्यको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार नियन्त्रणमा परेकामध्ये केहीले लेखापढी कानुन व्यवसायीको प्रमाणपत्र लिएपनि सम्बन्धित कार्यालयमा काम गर्न आवश्यक स्वीकृति नलिएको पाइएको छ। यसैबीच, लेखापढी एसोसिएसनका अध्यक्ष नारायणप्रसाद आचार्य र सचिव प्रताप भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै लेखापढी व्यवसायी तथा सेवाग्राहीमाथि गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरूले निरपराध व्यवसायीलाई बिना सर्त रिहा गर्न माग गर्दै घटनाप्रति “राज्य आतंक मच्चाउने अभिप्राय” भएको आरोप समेत लगाएका छन्।

प्रहरीले इनरुवा मालपोत कार्यालय र इटहरीस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट गरी १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको जनाएको छ। चैत १८ गते इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालयबाट १३ जनालाई नियन्त्रणमा लिइएको हो भने इटहरी–१० स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट थप ५ जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार उनीहरू सेवाग्राहीको काम छिटो गरिदिने बहानामा बिचौलियाको रूपमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मालपोत कार्यालय परिसरबाट प्रहरी निरीक्षक प्रकाश पराजुलीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका ९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी ५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी उपमहानगरपालिका ५ की २७ वर्षीय अर्चना आचार्य, इटहरी ५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा ३ की ३२ वर्षीय आयसा मोते छिन् । यस्तै इनरुवा २ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा ८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा २ का ३५ वर्षीय असिप आचार्य, इनरुवा ६ का ४९ वर्षीय रोशन विक, इनरुवा १ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षीय एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताज आलम मन्सुरी रहेका छन्।

इटहरी १० स्थित कोशी प्रदेश यातायात व्यवस्था कार्यालय परिसरबाट प्रहरी निरीक्षक दुर्गा खनालको टोलीले उइटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।