इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा दमकल अभावको कारण आगलागीमा ठूलो क्षति हुने जोखिम बढेको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उपमहानगरका तीन वटा दमकल जलाइएको कारण उपमहानगरमा आगलागी नियन्त्रण गर्न सकस हुने गरेको छ ।
चैत १३ गते पूर्वाञ्चल आइसक्रिम पार्लरमा लागेको आगो निभाउन छिमेकी पालिकाबाट दमकल झिकाउनु परेको थियो। आफ्नै दमकल नहुँदा आगो नियन्त्रणमा ढिलाइ भएको थियो ।
गत वर्ष चैत ११ गते सेन्ट्रल प्लाजामा लागेको आगलागीका बेला पनि पंर्याप्त साधन नहुँदा समस्या झन् जटिल बनेको थियो। इटहरी २ भृकुटी चोकमा बुधबार बिहान आगलागी हुँदा दमकल अभाबकै कारण एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय माया राईको घरमा आगलागी भएकोमा समयमै दमकल आइनपुग्दा नियन्त्रण गर्न नसकिएको हो । छिमेकी नगरपालिकाबाट दमकल आउन ढिलाइ हुँदा आगलागी फैलिएर नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।
इटहरीमा प्रत्येक वर्षजसो ठूला आगलागीका घटना हुने गरेका छन् । अहिले उपमहानगरमा दमकल नहुँदा त्यसले ठूलो क्षति गर्नसक्ने भन्दै स्थानीय तनाबमा छन् । पछिल्लो घटनापछि केही अभियन्ताहरूले चन्दा उठाएरै भएपनि दमकल खरिद गर्ने बताइरहेकाक छन् ।
इटहरीका मेयर हेमकर्ण पौडेलले भने उपमहानगरपालिकाले नै दमकल खरिद गर्ने दावी गरेका छन् । तर, आर्थिक अवस्था कमजोर रहेको उपमहानगरले तत्काल दमकल खरिद गर्ने सम्भावना न्यून रहेको कर्मचारीहरु बताउँछन् ।
उपमहानगरपालिका हाल विभिन्न भुक्तानी समस्याले जर्जर अवस्थामा छ। नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण भएको बसपार्कको काम सम्पन्न भइसकेपनि निर्माण कम्पनीले अझै भुक्तानी पाउन सकेको छैन। ९ करोड ४४ लाख रुपैयाँमा सम्झौता भएको उक्त परियोजनामा बोनससहित १० करोड १३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म ६ करोड २० लाख मात्रै भुक्तानी भएको छ ।
उपमहानगरले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा खरिद गरेको नगर बसको पनि अधिकांश रकम भुक्तानी गरेको छैन । हालसम्म १ करोड २८ लाख ८१ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ ।
बसपार्क र नगर बसको मात्र ९ करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको छ। विगतका खरिद, फितलो बजेट व्यवस्थापन र बढ्दो दायित्वका कारण उपमहानगरपालिका अहिले नयाँ दमकल खरिद गर्न नसक्ने अवस्थामा पुगेको देखिन्छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।