इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेशका युवाहरूलाई लक्षित गरी ‘उदय’ परियोजना सञ्चालनमा ल्याइने बताएका छन्। इलामको सूर्योदय नगरपालिका(३, बौद्धधाममा नवनिर्मित बुद्धको ६५ फिट अग्लो प्रतिमासहितको पार्क बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो घोषणा गरेका हुन्।
नवप्रवर्तन कार्यक्रममार्फत प्रदेशका युवा उद्यमीहरूलाई प्रोत्साहित गर्न ‘उदय’ परियोजना सञ्चालन गर्न लागिएको उनले बताए। यस परियोजनाको औपचारिक शुभारम्भ बिहीबार सुनसरीको इटहरीमा आयोजना हुने कार्यक्रममार्फत गरिने जानकारी उनले दिए।
परियोजनाअन्तर्गत लगानीका लागि कोशी प्रदेशका विभिन्न बैंकहरूको छनौट कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले साना तथा मझौला युवा उद्यमीले ३० लाखदेखि ३ करोड रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण पाउने बताए। प्रदेश सरकारले स्वीस सरकारसँगको समन्वयमा आर्थिक वर्ष २०८२८३ को बजेटमा यसका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए।
“युवाहरूलाई उद्योग सञ्चालनमा सहयोग गरी व्यावसायिक बनाउन प्रदेश सरकारले दुई वर्षभित्र ८ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ। यसले बेरोजगारी समस्या समाधानमा ठूलो सहयोग पुर्याउने छ,” मुख्यमन्त्री कार्कीले भने। उनका अनुसार हिमाली र पहाडी जिल्लाका युवालाई ३० देखि ४० प्रतिशत धितोमा १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने छ।
कोशी प्रदेश सरकारले गत वर्षदेखि नै युवा लक्षित ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषि मन्त्रालयमार्फत ६ करोड रुपैयाँ विनियोजन गरी सुरु गरिएको यस कार्यक्रमअन्तर्गत हाल १५० भन्दा बढी परियोजना सञ्चालनमा छन्। कुल लगानीको ६ प्रतिशत ब्याज प्रदेश सरकारले बेहोर्दै आएको जानकारी दिँदै मुख्यमन्त्रीले यस कार्यक्रमले पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
बुद्धपार्कको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यसले कोशी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य थपेको बताए। पार्कमा आवश्यक थप संरचना निर्माणको जिम्मा प्रदेश सरकारले लिने र यसलाई धार्मिक पर्यटकीय क्षेत्रको सूचीमा सूचीकृत गरिने उनले प्रतिबद्धता जनाए।
कोशी प्रदेश, संघीय सरकार र सूर्योदय नगरपालिकाको करिब ८ करोड रुपैयाँको लगानीमा ११ वर्ष लगाएर बुद्धपार्क निर्माण गरिएको हो। १७ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क नेपाल र भारतसहित तेस्रो मुलुकका पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बन्ने गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले जानकारी दिए। पार्क उद्घाटनअघि बौद्ध धर्मगुरु खेन्छेन नाम्डोल छिरिङ रिम्पोछेसहितका गुरुहरूबाट बुद्ध प्रतिमाको प्राण प्रतिष्ठा गरिएको थियो।
नेपाल(भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्धधाममा निर्मित यस ६५ फिट अग्लो बुद्ध प्रतिमाले विशेष गरी भारतीय पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।
सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले बुद्धपार्क सञ्चालनमा आएसँगै नगरपालिकाभित्र अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य थपिएको बताए। यसले स्थानीय पर्यटन प्रवर्द्धनका साथै सर्वसाधारणको आयआर्जनमा समेत टेवा पुग्ने उनको भनाइ छ। पार्क सञ्चालनसँगै स्थानीय व्यवसायीहरूले आसपासका क्षेत्रमा थप पर्यटकीय संरचना निर्माण गरिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।