काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेता चयन प्रक्रियाप्रति पार्टीका उपमहासचिव योगेश भट्टराईले गम्भीर असन्तुष्टि जनाएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई दलको नेता चयन गरेलगत्तै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असहमति सार्वजनिक गरेका हुन् ।
संसदीय दलको नेताका लागि उपाध्यक्ष बादल र युवा नेता सुहाङ नेम्वाङले दाबी प्रस्तुत गरेका थिए । तर, नेम्वाङले प्रस्तावक र समर्थक समेत नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । यही छनोट प्रक्रिया र शैलीप्रति भट्टराईले प्रश्न उठाएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्ने समयमा अपनाइएको यो शैलीले सिंगो पार्टी पंक्तिलाई थप चिन्तित बनाएको उल्लेख गरेका छन् । उनले पार्टी अहिले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको तर्फ सचेत गराएका छन् ।
‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको र समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्था छ,ू भट्टराईले लेखेका छन्, ूयस्तो बेला नेकपा एमालेको व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्नेमा आज संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, यसबाट सिंगो पार्टी पंक्तिलाई थप चिन्तित बनाएको छु ।’
भट्टराईले पार्टी नेतृत्व र सांसदहरूबीच छलफलका माध्यमबाट उच्चस्तरको समझदारी कायम गर्न केही दिनको समय लिन सकिने विकल्प हुँदाहुँदै सांसदहरूलाई दबाबमा राखेर निर्णय गरिएको आरोप समेत लगाएका छन् । उनले अगाडि लेखेका छन्, ‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो, यो राम्रो भएन ।’
.




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।