लोड हुँदैछ...

मेनु

सुनसरीमा बर्डफ्लू फैलिँदै, १९ हजारभन्दा बढी कुखुरा नष्ट

सुनसरीमा बर्डफ्लू फैलिँदै, १९ हजारभन्दा बढी कुखुरा नष्ट

इटहरी । सुनसरीको विभिन्न स्थानीय तहमा कुखुरा फार्महरूमा बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सतर्कता बढाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा.मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा सङ्क्रमण पुष्टि हुँदै गएको हो।

अहिलेसम्म इनरुवा नगरपालिका–२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा बर्डफ्लू देखिएको छ । यस्तै, इटहरी उपमहानगरपालिका–१६ मा सुमन गोविन्द श्रेष्ठले पालेका स्थानीय जातका कुखुरा र हाँसमा पनि सङ्क्रमण पुष्टि भएको छ।

जिल्लाका विभिन्न फार्मबाट संकलित नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा रोग पुष्टि भएपछि नियन्त्रणका उपायहरू तीव्र पारिएको डा.महतोले बताए। सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्र वरपर उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्महरूमा पनि निगरानी कडा गरिएको छ।

कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन र बाह्य सम्पर्कबाट जोगाउन किसानलाई आग्रह गरिएको छ। अहिलेसम्म जिल्लामा शङ्कास्पद देखिएका १४ वटा फार्मबाट १९ हजार ३६५ कुखुरा नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

बर्डफ्लू नियन्त्रणका लागि सम्बन्धित निकायले थप निगरानी र सचेतना अभियान तीव्र पारेका छन्। झापा र मोरङमा पनि बर्डफ्लुको संक्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।