इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ भृकुटी चोकमा बुधबार बिहान आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीय माया राईको घरमा बिहान करिब २ बजेतिर आगलागी भएकोमा समयमै दमकल आइनपुग्दा नियन्त्रण गर्न नसकिएको हो ।
स्थानीयका अनुसार इटहरी उपमहानगरका दमकल यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते अराजक समूहले जलाएर नष्ट गरेको थियो । उपमहानगरमा दमकल नभएको कारण समयमै आगो नियन्त्रण गर्न कठिनाइ भएको थियो।
छिमेकी नगरपालिकाबाट दमकल आउन ढिलाइ हुँदा आगलागी फैलिन पुगेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको छ।
धरान र दुहबीबाट गएको दमकल, प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
इटहरी–२ का वडाध्यक्ष माधव कोइरालाले इटहरीमा दमकल नहुँदा बाहिरबाट आउन समय लाग्ने र काठको घर छिट्टै खरानी भएको बताए। आगलागी रातिको समयमा भए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।