लोड हुँदैछ...

मेनु

टिएमजे क्षेत्रमा गुराँसको फूल टिप्नेमाथि कारबाही

टिएमजे क्षेत्रमा गुराँसको फूल टिप्नेमाथि कारबाही

तेह्रथुम । पूर्वी नेपालको प्रसिद्ध तिनजुरे–मिल्के–जलजले क्षेत्र (टिएमजे) क्षेत्रमा लालीगुराँस टिप्ने र हाँगा भाँच्ने गतिविधिमाथि कडा निगरानी र कारबाही सुरु गरिएको छ।

गुराँस फुल्ने सिजनमा बढ्दो मानवीय हस्तक्षेपका कारण जैविक विविधता र प्राकृतिक संरचनामा असर पर्न थालेपछि सामुदायिक वनहरूले जरिवानासहितको कडाइ लागू गरेका हुन्।

समुद्री सतहदेखि करिब १ हजार ७०० मिटरदेखि ५ हजार मिटर उचाइसम्म फैलिएको यो क्षेत्र ‘गुराँसको राजधानी’का रूपमा परिचित छ। बसन्त याममा रातो, गुलाबी, सेतोलगायत विभिन्न रङका गुराँसले ढाकिने यस क्षेत्रमा आन्तरिक तथा भारतीय पर्यटकको ठूलो आगमन हुने गर्दछ।

पर्यटक गतिविधिसँगै अनियन्त्रित रूपमा फूल टिप्ने, हाँगा भाँच्ने र वन क्षेत्रमै क्षति पुर्‍याउने प्रवृत्ति बढ्दै गएको छ। चैत्रे सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार गुराँस संरक्षणका लागि अहिले निगरानी कडा पारिएको छ। ‘गुराँस टिप्ने र हाँगा भाँच्नेहरूलाई भेटे जरिवाना तिराउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘वन जोगाउन कर्मचारी खटाएर निगरानीसमेत बढाएका छौं।’

गुराँसको दुरुपयोग रोक्न जुस उत्पादनजस्ता गतिविधिमा समेत नियमन सुरु गरिएको उनले जानकारी दिए। टिएमजे क्षेत्रमा नेपालमा पाइने ३२ प्रजातिमध्ये करिब २८ प्रजातिका गुराँस पाइन्छन्। यी वनस्पतिले वन्यजन्तु तथा चराचुरुङ्गीलाई बासस्थान उपलब्ध गराउनुका साथै माटो संरक्षण, जलस्रोत जोगाउने र कार्बन संकलनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

जथाभावी टिपाइ र भौतिक क्षतिका कारण यसको पुनरुत्पादनमै समस्या देखिन थालेको छ। स्थानीय तहले पनि संरक्षणका प्रयास तीव्र बनाएको जनाएको छ। लालीगुराँस नगरपालिका–७ का वडाध्यक्ष देवेन्द्र खड्काका अनुसार जंगलमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण तथा वन व्यवस्थापनका काम भइरहेको छ।

वन अतिक्रमण, सडक विस्तार, काठ तथा दाउरा चोरी–निकासी र परजीवीको आक्रमणजस्ता समस्याले गुराँसको क्षेत्रफल खुम्चिँदै गएको छ। यसले दीर्घकालीन रूपमा पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने जोखिम बढेको छ।

वन तथा वातावरण विज्ञ नवीन भट्टराई ले ‘गुराँसको राजधानी’मै गुराँसका प्रजाति हराउँदै जानु चिन्ताजनक भएको बताएका छन् । गुराँस संरक्षणबिना यहाँको पर्यावरण र पर्यटन दुवै जोखिममा पर्ने भएकाले समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।