धरान । किरात याकथुङ चुम्लुङ को १२औँ राष्ट्रिय महाधिवेशनले गोबिन्द लिम्बूलार्ई अध्यक्ष चयन गरेको छ ।
महाधिवेशनमा परम्परागत सहमतीय नेतृत्व चयन प्रक्रिया प्रारम्भमा विफल भएको थियो। अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष प्रेम येक्तेन र उपाध्यक्ष डा.कमल तिगेला उम्मेदवार बनेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो ।
यसअघि उम्मेदवारी दिएका गोविन्द लिम्बूले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। तर, अन्तिम समयमा येक्तेन, तिगेला र लिम्बू तीनै जनाको सहमतिमा निर्वाचन प्रक्रिया रोकेर लिम्बूलाई नै अध्यक्षमा निर्विरोध घोषणा गरिएको हो।
अधिवेशनको निर्वाचन सुरु भइसकेर केही मत खसिसकेको अवस्थामा तीनै उम्मेदवारले संयुक्त रूपमा मतदान रद्द गरी लिम्बूलाई सर्वसम्मत अध्यक्ष बनाउने लिखित प्रस्ताव निर्वाचन मण्डलमा पेश गरेका थिए। त्यसपछि निर्वाचन अधिकृतले मतपत्र बदर गर्दै लिम्बूलाई निर्विरोध अध्यक्ष घोषणा गरेका हुन्।
सहमति जुटाउन चुम्लुङका पूर्वअध्यक्षहरू अर्जुन लिम्बु र योगराज वनेमसहित अन्य वरिष्ठ नेताहरूले महत्वपूर्ण भूमिका खेलेका थिए। धरानमा आयोजित पत्रकार सम्मेलनमा सल्लाहकार हर्ष सुब्बाले लिम्बू समुदाय सहमति र सहकार्यमा सक्षम रहेको उदाहरणका रूपमा यस घटनालाई उल्लेख गरे।
महाधिवेशनले १८ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ। प्रस्तावमा मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण रोक्न, आदिवासी अधिकारसम्बन्धी छुट्टै कानुन ल्याउन तथा लिम्बु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्नुपर्ने माग समेटिएको छ।
नवनिर्वाचित कार्यसमितिमा निरन्ती तुम्बापो, चक्र एक्तेन र योगेन्द्र पालुङवा उपाध्यक्ष चयन भएका छन्। महासचिवमा अमर तुम्याहाङ, उपमहासचिवमा भवानी सम्बाहाम्फे तथा सचिवमा दीपा लक्सम, लक्ष्मण लावती र सङ्गीता सुब्बा निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्षमा कुमार जबेगु चयन हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय सदस्यहरू पनि निर्वाचित भएका छन्।
महाधिवेशनले सहमति, सहकार्य र सामूहिक नेतृत्वको सन्देश दिँदै संगठनलाई एकताबद्ध बनाउने दिशा लिएको आयोजकहरूले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।