भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ।
हरियालीले ढाकिएको पहाडको काखैभरि सर्पझैँ बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो–कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ।
भोजपुर नगरपालिका–१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ। उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठुलो परिवर्तन ल्याएको स्थानीय बताउँछन्।
पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ। यो सडकले भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोड्दै आर्थिक तथा सामाजिक गतिविधिमा समेत गति दिएको छ।
सडकको मुख्य विशेषता यसको नागबेली आकृति नै हो। माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा यहाँका तस्बिर तथा भिडियोहरू व्यापक रूपमा साझा हुन थालेपछि आन्तरिक पर्यटकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ। बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन् आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन्।
स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्याउन सहजता ल्याएको छ। आलु, मकै, अदुवा, फलफूललगायत कृषि उपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ भने व्यापार–व्यवसाय पनि विस्तार हुँदै गएको छ।
सडक छेउमा विश्रामस्थल, भ्यू प्वाइन्ट र सूचना बोर्ड जस्ता पूर्वाधार थप गर्न सकिएमा पर्यटकलाई अझ सहज हुने स्थानीयको भनाइ छ। आवश्यक प्रचार–प्रसार र पूर्वाधार विकास हुन सकेमा भोजपुर–बेहेरे नागबेली सडक केवल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै आकर्षक गन्तव्यका रूपमा स्थापित हुने सम्भावना देखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।