लोड हुँदैछ...

मेनु

गगनको हस्ताक्षर भएको टिकट लिएर चुनावमा, हारेपछि देउवा पक्षको भेलामा !

गगनको हस्ताक्षर भएको टिकट लिएर चुनावमा, हारेपछि देउवा पक्षको भेलामा !

विराटनगर । नेपाली काँग्रेसमा डा. शेखर कोइरालाको भूमिकालाई लिएर कार्यकर्ताहरु पनि चकित बन्न थालेका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी सभापति गगन थापा नेतृत्वबाट टिकट लिएर चुनाव लडेका नेता डा. कोइराला पराजयपछि शेरबहादुर देउवा समूहको समानान्तर सक्रिय देखिएका छन् ।

मंगलबार काठमाडौंमा देउवा पक्षले आयोजना गरेको भेलामा कोइराला सहभागी भएसँगै कांग्रेसभित्रको गुटगत राजनीति थप चर्किएको संकेत देखिएको छ। भेला पूर्णबहादुर खड्का को नेतृत्वमा आयोजना गरिएको हो।

देउवा विदेशमा रहेकाले खड्काले समूहको नेतृत्व सम्हाल्दै समानान्तर अभ्यासलाई अघि बढाएका छन्। फागुन २१ को निर्वाचनमा मोरङ–६ बाट उम्मेदवार बनेका कोइराला रास्वपाकी उम्मेदवारसँग ठूलो मतान्तरले पराजित भएका थिए।

चुनावअघि उनी गगन थापा नेतृत्वमा विशेष महाधिवेशन हुँदा कोइराला त्यसकाके विरुद्ध उभिएका थिए । त्यसअघि देउवाका हरेक गतिबिधिको विरुद्ध उभिँदै आएका कोइरालाले थापा नेतृत्वमा विषेश महाधिवेशन भएपछि देउवाको पक्षमा उभिएर महाधिवेशनको विरोध मात्र गरेनन्, थापालाई कार्वाही गर्ने केन्द्रीय समिति बेठकमै सहभागी भए ।

विषेश महाधिवेशनले थापाको नेतृत्वमा नयाँ समिति गठन गरेपछि कोइरालाले देशी र विदेशी षड्यन्त्रमा काँग्रेस विभाजन गरिएको आरोप लगाएका थिए । तर, लगत्तै भएको निर्वाचनमा उनले थापाकै हस्ताक्षरमा टिकट लिएर प्रतिनिधिसभा निर्वाचन लडे । थापा नेतृत्वको काँग्रेसले चुनाबमा थापालाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेकोमा कोइरालाले चुनाबी अभियानको क्रममा पनि त्यसको विरोध गरेका थिए ।

चुनाबमा शर्मानक हार ब्यहोरेपछि भने कोइराला देउवा पक्षतर्फ खुलेर लागेका छन् । देउवा समूहले सोमबार पनि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा नवनिर्वाचित सांसदहरूसँग छलफल गरेको थियो। मंगलबारको भेला त्यसैको निरन्तरता हो । भेलामा कोइराला सहभागी भएका छन् ।

बैठकमा निर्वाचन परिणाम, पार्टीको आगामी रणनीति, १५औँ महाधिवेशनको तयारी तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताइएको छ। कोइराला पक्षका नेताहरूले पनि यो भेलालाई औपचारिक बैठक नभई सामान्य भेला मात्र भएको बताएका छन्।

पार्टीभित्र समानान्तर गतिविधि बढ्दै जानुले कांग्रेसभित्रको विभाजन गहिरिँदै गएको विश्लेषण भइरहेको छ। कोइरालाको पछिल्लो कदमप्रति पार्टीभित्रै आलोचना बढ्दो छ। चुनावअघि गगन थापा नेतृत्वलाई अस्वीकार गर्ने, पछि सोही नेतृत्वबाट टिकट लिएर चुनाव लड्ने र अहिले पुनः देउवा पक्षमा फर्किनु ‘दोहोरो चरित्र’ भएको आरोप उनीमाथि लागेको छ।

कांग्रेसका केही नेताहरूका अनुसार यस्तो अस्थिर राजनीतिक व्यवहारले कोइरालाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। पार्टीको एक समूहले नयाँ पुस्ताको नेतृत्वलाई स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राख्दा अर्को समूह पुरानै संरचनामा फर्किन खोजिरहेको देखिन्छ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दिएको भएपनि देउवा पक्षले त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । जुन हाल विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।