विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की अचेल सार्वजनिक मञ्चहरूमा प्रदेशको समृद्धिको खाका कोर्नुभन्दा बढी आफ्नै राजनीतिक पराजय र जनताप्रतिको गुनासो पोख्न व्यस्त देखिन्छन् । सोमबार विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको एक औपचारिक कार्यक्रममा मुख्यमन्त्री कार्की जसरी प्रस्तुत भए, त्यसले उनी एक शक्तिशाली प्रदेशको कार्यकारी प्रमुख नभई कुनै कुण्ठित र पराजित मानसिकता बोकेको पात्रजस्तो भान गराउँथ्यो ।
आफ्नो कार्यकालमा ‘दिनरात नभनी’ विकास गरेको दाबी गर्ने कार्कीलाई यतिबेला मतदाताको एउटै जवाफले नराम्ररी बिझाएको छ–‘विकास त राज्यकोषको पैसाले गरेको हो नि, तपाईंको व्यक्तिगत लगानी त होइन !’ यो एउटै वाक्यले मुख्यमन्त्रीको अहम् र विकासलाई ‘भोटको खेती’ ठान्ने पुरानो राजनीतिक सोचमाथि नराम्ररी प्रहार गरेको छ ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफ्नो चुनावी अनुभव सुनाउँदै भने, ‘हामीले यत्रो काम गर्यौं, बाटो बनायौं, पुल बनायौं तर भोट माग्न जाँदा मान्छेहरूले यसपालि नयाँलाई गर्ने भयौं भने । हामीले यत्रो काम गर्या छौं एमालेलाई भोट दिनु भन्दा उनीहरूले तपाईंहरूले राज्यकोषबाट गर्या त हो नि, अर्कोले आएर भोलि गर्छ भन्ने जवाफ दिए ।’
फागनु २१ म भएको प्रतिनिधिसभाको चुनावमा जनताले तिरेको करबाट निर्मित सडक र पुललाई आफ्नो व्यक्तिगत जसका रूपमा व्याख्या गर्ने पुराना दल तथा तिनका सोचलाई नयाँ पुस्ताका मतदाताले अस्वीकार गरिदिएका छन् । राज्यकोषको ढुकुटी खर्चेर गरिने नियमित कामलाई चुनावी एजेन्डा बनाउँदा र त्यसको बदलामा भोट नपाउँदा एमाले काग्रेसका नेताहरु भने विरक्तीन थालेका छन् ।
विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय र त्यसले परम्परागत शक्तिहरूलाई पु¥याएको क्षतिले मुख्यमन्त्री कार्कीलाई निन्द्रा पर्न छोडेको संकेत उनको हाउभाउले दिन्थ्यो । रास्वपाले झन्डै दुईतिहाइ मत ल्याएको र पुराना दलहरू पत्तासाफ हुन थालेको यथार्थलाई उनले स्वीकार गर्न सकेका छैनन् । नयाँ शक्ति र नयाँ जनादेशलाई व्यङ्ग्य गर्दै उनले आफूहरू अब केवल ‘माइन्डसेट’ परिवर्तन गरेर बस्न बाध्य भएको लाचारी सुनाए ।
उनले भने, ‘हामी न फेदमा हुन्छौं न टुप्पोमा, हाम्रो कुनै उपादेयता नै रहँदैन कि जस्तो हुन थाल्यो ।’ यो अभिव्यक्तिले कोशी प्रदेशको भविष्यभन्दा पनि कार्कीको आफ्नै राजनीतिक भविष्य अन्धकारतर्फ धकेलिएको आशंका उनैले गरिरहेका छन् ।
मुख्यमन्त्री कार्कीले आफूलाई आउटडेटेड (पुरानो र असान्दर्भिक) भएको महसुस मात्र गरेका छैनन्, उनले त संघीयताको मेरुदण्ड मानिएको प्रदेश संरचनामाथि नै प्रश्न उठाउन थालेका छन् । केही समयअघि उनले प्रदेश खारेज गर्दा आफूलाई कुनै आपत्ति नहुने बताएका थिए । जुन व्यवस्थाको मुख्यमन्त्री बनेर उनी सरकारी सुखसुविधा भोगिरहेका छन्, त्यही व्यवस्थाप्रति उनको यो अनास्थाले उनको राजनीतिक नैतिकतामाथि ठूलो प्रश्न खडा गरेको छ । सतासिन नेपाली काग्रेस तथा प्रमुख प्रतिपक्षी नेकपाले समेत मुख्यमन्त्रीको भनाइको कडा प्रतिबाद गरीरहेका छन् ।
आगामी वर्षदेखि असन्तुलित बजेटको वितरणलाई रोकेर नतिजामुखी बजेट निर्माण गर्ने समेत उनले बताएका छन् । नयाँ परिवेश अनुसार सिक्दै र हामीलाई पनि परिवर्तित गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले योजना बैंकलाई व्यवस्थित ढंगले सञ्चालन गरी यसपटकको बजेटमा योजना बैंकमा आएका योजनालाई प्राथमिकता दिने उनले बताए । परम्परागत रूपमा घरपरिवारमा उत्पादन गरिँदै आएको घरेलु मदिरा रक्सीको उत्पादन गुणस्तर र परीक्षण एवं ब्रान्डिङ विषयका लागि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता समेत प्रदेश सरकारले गरेको छ । बालेन शाहा प्रधानमन्त्रीमा नियुक्त भएसगै कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुले भनेको समेत टेर्न छाडेपछि उनी विरक्तीन थालेको स्रोतले बतायो । बालेन ले के गर्छन भनेर हेर र पर्खको अवस्थामा कर्मचारी रहेकाले उनी पनि निरास हुन थालेको स्रोतले बतायो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।