काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूका साथै गत पुसमा भएको विशेष महाधिवेशनलाई स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि आमन्त्रण गरिएको छ।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि विकसित राजनीतिक घटनाक्रमका बीच कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले यो बैठक आह्वान गरेका हुन्। नेता लेखक पक्राउ परेपछिको परिस्थिति र पार्टीको आगामी रणनीतिका विषयमा बैठकमा छलफल हुने बुझिएको छ।
यसैबीच, कार्यवाहक सभापति खड्काले आगामी बिहीबारका लागि जिल्ला सभापतिहरूको भेला समेत बोलाएका छन्।
यसअघि सोमबार देउवा–शेखर समूहले महाराजगञ्जमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।