लोड हुँदैछ...

मेनु

एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न अदालतको अनुमति दिन अस्वीकार

एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न अदालतको अनुमति दिन अस्वीकार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ध्रुव कार्कीको इजलासले सोमबार बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको फाइलमाथि सुनुवाइ गर्दै अनुमति दिन अस्वीकार गरेको हो । यो विषय हाल उच्च अदालत पाटनमा विचाराधीन रहेकाले जिल्ला अदालतले तत्काल पक्राउ अनुमति दिन नमिल्ने ठहर गरेको छ ।काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार उच्च अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म जिल्ला अदालतले अनुमति दिन नमिल्ने आदेश भएको हो ।

‘यसअघि नै सो विषयमा मुद्दा नचलाउने निर्णय भएको रहेछ । उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेपछि अदालतले सक्कल मिसिलसहितको फाइल झिकाउने आदेश दिएको देखिन्छ,’ स्रेस्तेदार भट्टराईले भने, ‘उच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा यहाँबाट पक्राउ अनुमति दिन नमिल्ने इजलासको आदेश छ ।

यसअघि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको भए पनि उक्त निर्णयलाई चुनौती दिँदै उच्च अदालतमा मुद्दा पुगेको थियो । उच्च अदालतमा जारी प्रक्रिया नटुंगिएसम्मका लागि जिल्ला अदालतले यो बाटो बन्द गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।