इटहरी । सुनसरीको दुहबी नगरपालिकामा फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण सुरु भएको छ।
दुहबी–४ मा आयोजित कार्यक्रममा नगरप्रमुख बेदनारायण गच्छदार र भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रूपमा प्रशोधन केन्द्रको आइतबार शिलान्यास गरेपछि निर्माण सुरु भएको हो।
‘कन्स्ट्रक्सन अफ वेस्ट म्यानेजमेन्ट सेन्टर विथ मटेरियल रिकभरी फ्यासिलिटी एण्ड इक्विपमेन्ट सप्लाई’ नाम दिइएको उक्त परियोजना भारतीय राजदूतावास र दुहबी नगरपालिकाको सहकार्यमा सञ्चालन हुन लागेको हो। नगर क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्यसहित सुरु गरिएको परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सिद्धार्थ दर्शन–चुरिया जेभीले ठेक्का पाएको उक्त योजनाको कुल लागत करिब १८ करोड ३५ लाख ६८ हजार रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए। केन्द्र निर्माण भएपछि फोहोरको वर्गीकरण, पुनः प्रयोग (रिसाइक्लिङ) तथा सुरक्षित व्यवस्थापनमा सहजता आउनेछ।
यसअघि गत कात्तिकमा भारत सरकारको सहयोगमा सोही रकम बराबरको लगानीका लागि त्रिपक्षीय सम्झौता भएको थियो। उक्त सम्झौतामा नेपाल सरकारको अर्थ मन्त्रालय, भारतीय राजदूतावास र दुहबी नगरपालिकाबीच सहमति भएको थियो।
नगरप्रमुख गच्छदारले २०४६ सालपछि पहिलो पटक दुहबीमा यस्तो ठूलो परियोजनाको लगानी आएको उल्लेख गरे। भारतीय राजदूतावासका प्रतिनिधि सिंहले परियोजना उच्च प्रभावकारी सामुदायिक विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिने बताए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।