विराटनगर । पहिरो पन्छाएर गएरातिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको मेची राजमार्ग आज बिहान पुनः पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिहान खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ। पहिरो खस्ने क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ।
यसअघि साँझ सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। तर, बिहान पुनः पहिरो खसेपछि अवस्था फेरि जटिल बनेको हो।
अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।