विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै विरोध जनाएको छ।
पार्टीको जिल्ला कमिटिले आज जिल्ला प्रशासन कार्यालयमार्फत विरोध–पत्र पठाउँदै ओलीलाई पक्राउ गरिएको घटनालाई “प्रतिशोधपूर्ण र असंवैधानिक कदम” भएको आरोप लगाएको छ।
प्रधानमन्त्रीलाई पठाइएको विरोध–पत्रमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा गरिएको पक्राउलाई लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गरिएको छ। एमालेले नवगठित सरकारले सुरुदेखि नै देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने काम गरेको दाबी गरेको छ।
पत्रमा भदौ २३ गते भएको आन्दोलनका क्रममा भएका विभिन्न हिंसात्मक घटनाहरू—सरकारी संरचनामा तोडफोड, आगजनी, लुटपाट, प्रहरीमाथि आक्रमण लगायतका विषयमा आयोगको प्रतिवेदन मौन रहेको आरोप पनि लगाइएको छ। एमालेका अनुसार एकपक्षीय रूपमा प्रतिवेदन प्रयोग गरेर विपक्षी नेतामाथि कारबाही गर्नु न्यायोचित नभएको बताइएको छ।
एमाले मोरङले पार्टी अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। साथै, लोकतान्त्रिक आन्दोलनमाथि दमन रोक्न र प्रतिशोधपूर्ण कदमहरू बन्द गर्न सरकारसँग आग्रह गरिएको छ।
पत्रमा यस्ता कदमले लोकतान्त्रिक अधिकारमाथि आघात पुगेको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्र बुझाउन गएको एमाले टोलीले जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्दै नाराबाजी गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।