विराटनगर । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनविपरीत पक्राउ गरी सरकारले प्रतिशोध साँधेको भन्दै आज काठमाडौं लगायत देशभर विरोध प्रदर्शन गर्दैछ। एमालेले आज देशका ७७ वटै जिल्लामा सरकारको कदम विरुद्ध प्रदर्शन गर्न लागेको हो।
पार्टीको घोषित कार्यक्रम अनुसार आज दिउँसो १२ बजे सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र बुझाउने तयारी गरिएको छ। एमाले सचिव महेश बस्नेतले प्रदर्शनसहित विरोध पत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिए।
जेनजी (Gen-Z) आन्दोलनमा दमन गरेको आरोपमा शनिबार झिसमिसेमै अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेका थिए। एमालेले यस गिरफ्तारीलाई ‘गैरकानुनी’ र ‘पूर्वाग्रही’ भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।
यसअघि शनिबार भएको प्रदर्शनका क्रममा काठमाडौंको माइतीघर–बिजुलीबजार सडकखण्ड दिनभर तनावग्रस्त बनेको थियो। एमाले सचिवालयको आकस्मिक बैठकले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।