लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेसमा विज्ञप्ति वार, कुन आधिकारिक ?

नेपाली कांग्रेसमा विज्ञप्ति वार, कुन आधिकारिक ?

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षले झनै चर्किँदै गएको छ। २०८२ भदौ २३ र २४ गतेका घटनालाई लिएर सरकारले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखक पक्राउ गरेको विषय र गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा काँग्रेसको दुईवटा विज्ञप्ति जारी भएका छन् । पार्टीका दुई जिम्मेवार निकायबाट आएका विज्ञप्तिले कांग्रेसभित्र विज्ञप्ति युद्ध सुरु भएको पुष्टि गर्दछ। यसले पार्टी देउवा पक्ष र गगन पक्षबीच ठुलो दरार उत्पन्न भएको देखाएको छ।

पार्टी सभापति गगन थापा पक्षबाट प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्ति तुलनात्मक रूपमा संस्थागत र सन्तुलित देखिन्छ। यसमा भदौ २३ को दमन र २४ को विध्वंश दुवैको निष्पक्ष छानबिन हुनुपर्ने पुरानै अडान दोहोर्‍याइएको छ। सरकारको कार्यान्वयन प्रक्रिया सेलेक्टिभ भएको र प्रतिवेदन अपारदर्शी रहेकोमा यसले जोड दिएको छ। यो विज्ञप्तिले कानुनी राज्य र विधिको शासनको कुरा गर्दै सरकारलाई संयमित हुन आग्रह गरेको छ।

यस्तै पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने तत्कालिन कार्यवाहक सभापति खड्काले कार्यबहाक सभापतिकै नाममा जारी भएको विज्ञप्ति भने आक्रामक छ। यसले नीतिगत कुराभन्दा पनि सिधै राजनीतिक प्रतिशोधको आरोप लगाएको छ।

पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई खड्काले अवैध हिरासत भन्दै भर्त्सना गरेको छ। खड्काले आयोगको प्रतिवेदनलाई नै बदनियतपूर्ण करार गर्दै देशभरका कार्यकर्तालाई जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका छन्।

काँग्रेसको गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए । त्यसअघि काँग्रेसका सभापति रहेका शेरबहादुर देउवा पक्षले भने विशेष महाधिवेशन पक्षधरलाई अवैधानिक भन्दै आएको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधिन छ ।

प्रवक्ताको विज्ञप्तिले दुवै दिनका घटनामा दोषीलाई कारबाही हुनुपर्ने माग गर्छ। तर खड्काको विज्ञप्तिले भदौ २४ को विध्वंशमा प्रतिवेदन मौन रहेको भन्दै प्रतिवेदनकै वैधानिकतामाथि प्रश्न उठाएको छ। यसले के देखाउँछ भने, कांग्रेसकै एउटा पक्ष भदौ २३ को राज्य दमनमा आफ्ना नेता रमेश लेखक तानिने डरले प्रतिवेदनलाई नै खारेज गर्न चाहन्छ।

रमेश लेखक र केपी ओलीको गिरफ्तारीले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। खड्काको विज्ञप्तिले एमाले अध्यक्ष ओलीसँगको सहकार्य वा समान पीडालाई पनि समेटेको छ, जुन प्रवक्ताको विज्ञप्तिमा कतै उल्लेख छैन।

प्रवक्ताको विज्ञप्ति पार्टीको धारणा भनिएको छ भने खड्काको विज्ञप्तिमा यो बैठक निर्णय गर्दछ भनिएको छ। कुन बैठकले निर्णय गर्‍यो भन्ने नखुल्नुले देउवा पक्षले आकस्मिक रूपमा आफ्नै समूहको बैठक बसेर पार्टीको लेटरहेड प्रयोग गरेको छ ।

कांग्रेसभित्रको यो विज्ञप्ति युद्धले पार्टी नेतृत्व तहमा गम्भीर अविश्वास रहेको देखाउँछ। एउटा पक्ष कानुनी प्रक्रियाबाट समस्या सुल्झाउन चाहन्छ भने अर्को पक्ष सडक संघर्ष र राजनीतिक दबाबमार्फत आफ्ना नेता बचाउन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।