विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालय टिम पनि बनाएका छन्।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका शाहले सल्लाहकार र सचिवालयको टिम पनि बनाएका हुन्।
जसअनुसार शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। उनी शाहका रणनीतिक सल्लाहकार पनि हुन्। काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेलादेखि नै बेनले साथ दिएका थिए। उनी निरन्तर सल्लाहकार बनेर सघाउँदै आएका छन्। उनमा हरेक रणनीति बनाउन कौसल रहेको निकटस्थहरू बताउँछन्।
यस्तै, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्। असिमले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँग एकता गराउन भूमिका खेलेका थिए।
रास्वपा सभापति रवि लामिछाने र शाहलाई असिमले आफ्नै निवासमा भेटवार्ता गराएका थिए। उनकै पहलमा मध्यरातसम्म छलफल गरेर ७ बुँदे एकताको सहमति भएको थियो।
त्यही सहमतिका आधारमा शाह रास्वपमा प्रवेश गरेका थिए। रास्वपा शाहलाई प्रधानमन्त्री प्रस्ताव गरेर फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा होमिएको थियो।
प्रतिनिधि सभाको निर्वाचनमा असिमलाई काठमाडौँ क्षेत्र नम्बर ५ बाट उठाउने तयारी भएको थियो। अन्तिम सयममा असिम पछि हटेका थिए। त्यस क्षेत्रमा शाहकै टिमका सस्मित पोखरेललाई उम्मेदवार बनाइएको थियो।
यसैगरी, प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन्। सुदिप ढकाललाई प्रधानमन्त्रीको प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ।
सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन्। बाँकी सल्लाहकार केही दिनमै नियुक्त गर्ने प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिमले बताए।
यसैगरी, प्रधानमन्त्री शाहको सरकारी टिमतर्फ निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले गर्ने भएका छन्। परियार केहीदिनदेखि शाहको लागि प्रधानमन्त्री कार्यालय, अतिथि कक्ष, मन्त्रिपरिषद् हलको वास्तु मिलाउन सक्रिय थिए। शाह काठमाडौँ महानगरको मेयर हुँदा केही समय प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।