काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई शपथ गराएका हुन् । ३६ वर्षको उमेरमा देशको कार्यकारी प्रमुख बनेका शाह नेपालको ४३औँ प्रधानमन्त्री हुन् ।
समारोहमा प्रधानमन्त्री शाहसँगै नयाँ मन्त्रिमण्डलका सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले नै शपथ गराएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहित ऐतिहासिक बहुमत हासिल गरेपछि रास्वपाका वरिष्ठ नेता शाह संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए । झापा–५ बाट निर्वाचित शाहले शपथ ग्रहण समारोहमा दौरा–सुरुवाल र ढाका टोपीमा सजिएर राजकीय मर्यादाका साथ शपथ लिएका थिए ।
शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरू, कुटनीतिक नियोगका प्रतिनिधिहरू र उच्च पदस्थ सरकारी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
शपथ लगत्तै प्रधानमन्त्री शाह सिंहदरबार पुगेर आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका शाहको नेतृत्वमा बन्ने नयाँ सरकारबाट आम जनताले सुशासन र विकासको ठूलो अपेक्षा राखेका छन् ।








प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।