काठमाडौँ ।मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो आयोजना हुने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० लाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहणअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक घोषणा गरिनेछ । हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत हासिल गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम शाहको नेतृत्वमा एकल सरकार गठन हुन लागेको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता प्राप्त गर्दै १८२ सिटमा जित निकालेको छ । सोही सफलतापछि बिहीबार बसेको दलको बैठकले नेता शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको थियो । प्रधानमन्त्रीका रूपमा शपथ लिन लागेका शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मतका साथ निर्वाचित भएका हुन् ।
प्रधानमन्त्रीको शपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ । प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेलगत्तै बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकबाट सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने गरी केही निर्णयहरू गर्ने तयारी शाहको टिमले गरेको छ ।
सो निर्णयका सम्बन्धमा बिहीबार नै नेता शाहको सचिवालय र मुख्यसचिव सुमनराज अर्यालबीच विस्तृत छलफल भइसकेको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सार्वजनिक सेवालाई सहज र प्रविधिमैत्री बनाउने विषय पहिलो प्राथमिकतामा रहने बुझिएको छ ।
शीतल निवासमा आयोजना हुने शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई निमन्त्रणा पठाइसकिएको छ ।
बिहीबार मात्रै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीबाट नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरिसकेका छन् । आज शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै मुलुकमा नयाँ राजनीतिक अध्याय सुरु हुने विश्वास गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।