विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा रहेको पूर्वाञ्चल आइसक्रिम पार्लरमा बुधबार बिहान करिब १० बजेतिर आगलागी भयो । आगलागीका कारण करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान छ ।
आगलागी नियन्त्रणका लागि मोरङको लेटाङ र सुन्दरहरैंचा नगरपालिका तथा सुनसरीको इनरुवा, दुहबी, रामधुनी र धरानबाट वारुणयन्त्र मगाइयो । आगो दुई घण्टामा नियन्त्रणमा आयो । आगो निभाउन ढिलाइ हुनुको मुख्य कारण इटहरीमै दमकल नहुनु हो ।
‘दमकल जलाउने शहरको परिचय बनाएको इटहरी उपमहानगरको मुख्यचौक आसपासका घरहरूमा आगो आगो लाग्यो भने हाम्रो हालत पत्ला हुने देखियो,’ इटहरीका अर्जुन शर्माले भने, ‘इटहरी चौकबाट करिब १५० मिटर दुरिमा रहेको पूर्वाञ्चल आइसक्रिम पार्लरमा आगो लाग्दा धरान, बेलबारी, इनरुवा, बिराटनगरका ५ थान दमकल आएर आगो निभाएको देख्दा लाजै लाग्यो ।’ उनले मात्रै होइन इटहरीका धेरै स्थानीयले यस्तै स्टाटस आशयका स्टाटस र विचारहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार आगो निभाउन झण्डै दुई घण्टा लागेको थियो । ‘जोखिम उच्च थियो । करिब दुई घण्टाको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भयौं,’ हमालले भने ।
कोशी प्रदेशको प्रमुख व्यापारिक तथा आवागमन केन्द्र मानिने इटहरीमा आगलागीका घटना भइरहने गरेको छ । त्यही भएर इटहरी उपमहानगरपालिकाले पटक पटक गरेर तीन वटा दमकल (वारुणयन्त्र) स्ट्याण्ड बाइ राख्थ्यो । तर, गएको भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाका तीनवटै दमकलहरू जलाइए । ‘इटहरीमा त केही नै छैन । कसरी आगो निभाउने ठूलो समस्या छ,’ डिएसपी हमालले भने, ‘अरु पालिकाको सहयोग भए पनि छिटो निभाउन भने सकिएन ।’ उनले आगलागीका कारण क्षति हुने र नियन्त्रणमा समस्या देखिएको बारे सबैले महसुस गरेको बताए ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार नगरपालिकाले एउटा दमकल खरिदको प्रक्रिया सम्पन्न गरेर ल्याउने चरणमा छ । वैशाख भित्रमा ल्याइसक्नु पर्ने उनको भनाइ छ । ‘खरिद प्रक्रिया टुङ्गिएर बोलपत्र स्वीकार गरिसकेको छ । त्यो बोलपत्र स्वीकार गरेको कम्पनीले १२० दिन टाइम मागेको छ । त्यो समय भनेको वैशाख पुरै लाग्ला,’ पौडेलले भने ।
आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको स्वामित्वमा रहेको तीनवटा दमकल, रोलर, ग्रेडर, पानी ट्याङ्की, २०–२५ वटा गाडी जलेका थिए । ‘आजको आगलागीबाट मान्छे त्रसित भए । दमकलको आवश्यकता पनि महसुस भएको छ । समाजलाई एउटा पाठ पनि भयो । किनभने हिजो २० जना बजारका सामाजिक मान्छेहरू निक्लेर त्यो सार्वजनिक सम्पत्ति दमकलहरू आगलागी नगरौँ, एम्बुलेन्स नजलाऊँ भन्दा रोकिने स्थिति थियो । बजारका आफूलाई नागरिक समाज, सज्जन, बुद्धिजीवी भन्ने मान्छेहरू टुलुटुलु हेरेर बस्ने, गलत भइराख्दा त्यसको प्रतिरोध पनि नगर्ने, सक्दा उल्टै उत्तेजित बनाउने कुरामा नि लाग्या छन् नि त यहाँ त । उनीहरुले पनि अब यो घटनाबाट पाठ सिक्नु पर्छ । सरकारी सम्पत्ति संरक्षण नगर्दा सहरले के क्षति बेहोर्नु पर्छ ? यो अपराध थियो कि न्याय थियो, आन्दोलन थियो कि विध्वंश थियो भन्ने कुरा पनि अब बुझ्नुपर्छ ।
उनले जेनजी आन्दोलनका क्रममा सवारी साधन र भौतिक संरचना गरी ३७ करोड क्षति भएको बताए । ‘गाडीहरू नै २८ करोड बराबरको क्षति भयो । २–३ वटा स्कार्पियो गएको छ, रोलर, ग्रेडर, मोटरसाइकल त्यति कर्मचारीको थुप्रै क्षति छ ! इटहरीको सवारी साधन सहित भौतिक पूर्वाधार ३७ करोड क्षति हो,’ पौडेलले भने ।
इटहरी उपमहानगरपालिकाका प्रमुख पौडेलका अनुसार अत्यावश्यक सेवामा तत्पर रहने दमकल भदौ २४ गते पालिका परिसरमै थिए । जलाइएका दमकल तथा सवारी साधनको तस्बिरहरु अहिले पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ । यसअघि इटहरीका दमकलले आफ्नो पालिकामा मात्रै होइन, नजिकका छिमेकी पालिका धरान, विराटनगर, दुहबी, इनरुवालगायतमा सेवा दिन पुग्थ्यो । तर, अब आफैं अरुको सहारा लिनुपर्ने ठाउँमा इटहरी पुगेको छ । पौडेलका अनुसार नगरपालिकाले जोडेको चार थान विद्युतीय नगरबस, दुई थान एम्बुलेन्स र दुई थान शव वाहन भने जोगिएका छन् ।
झण्डै दुई वर्ष अगाडि इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको थियो । त्यतिबेला आगो नियन्त्रणमा लिन सबैभन्दा पहिले इटहरीकै दमकल पुगेका थिए । त्यसपछि छिमेकी शहर विराटनगर, धरान, इनरुवालगायतबाट पुगेका आठवटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । प्लाजाको आगलागी नियन्त्रण हुन नसक्दा अग्लो भवनमा फसेका केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको थियो । त्यतिबेलै इटहरी उपमहानगरपालिकाले माथिसम्म पुगेर पानी हान्ने वा आगो नियन्त्रण गर्ने वारुणयन्त्रको महसुस गरेको थियो । ‘हामीले त्यसबेला अग्लो ठाउँमा पुगेर पनि आगो नियन्त्रण गर्ने दमकल आवश्यक भयो । अब खरिद गर्नुपर्छ भन्यौं । तर, भएकै जलेपछि त्यो खरिद गर्न सकिएन,’ नगर प्रमुख हेमकर्ण पौडेलले भने ।
दमकल किन्न युवा व्यवसायी समिर कार्कीको पहल
इटहरी उपमहानगरपालिकाका लागि नयाँ दमकल खरिद गर्न जनस्तरबाट अभियान सुरु गरिएको छ। युवा व्यवसायी समिर कार्कीले पहल गर्दै इटहरीलाई दमकल किनेर दिने अभियान घोषणा गरेका हुन्।
केही समय अघि भएको जेन्जी आन्दोलनका क्रममा इटहरीमा रहेको दमकल जलाईएपछि उपमहानगरपालिका हालसम्म दमकलविहीन अवस्थामै रहेको छ। लामो समय बितिसक्दा पनि नयाँ दमकल खरिद गर्न नसकेको भन्दै स्थानीय स्तरमा चासो बढ्दै गएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै कार्कीले जनसहभागिताबाट दमकल खरिद गर्ने अभियान सुरु गरेको बताए। ‘ईटहरी जस्तो बढ्दो शहरमा दमकल नहुनु अत्यन्तै जोखिमपूर्ण अवस्था हो। कुनै पनि विपद् वा आगलागीको घटनामा तुरुन्तै सेवा दिन सक्ने व्यवस्था आवश्यक छ,’ उनले भने।
कार्कीका अनुसार अभियानमार्फत स्थानीय व्यवसायी, सामाजिक संघ–संस्था र सर्वसाधारणको सहयोग जुटाएर दमकल खरिद गर्ने लक्ष्य राखिएको छ। यसका लागि चाँडै नै अभियानको कार्ययोजना सार्वजनिक गरिने पनि उनले जानकारी दिए।
स्थानीयवासीहरूले पनि शहरको सुरक्षाका लागि यस्तो पहल सकारात्मक भएको बताएका छन्। उनीहरूका अनुसार नगरमा आगलागी जस्ता घटनामा छिटो उद्धार र नियन्त्रणका लागि दमकल अत्यन्तै आवश्यक साधन हो। यस अभियानले ईटहरीमा सामुदायिक सहयोग र जिम्मेवारीको भावना बढाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।